काठमाडाैं। यातायात, विमानस्थल, आवासीय भवनदेखि सार्वजनिक सुरक्षा व्यवस्थासम्म रोबोटको प्रयोग विस्तार गर्दै सिङ्गापुरले स्वचालित प्रविधिलाई दैनिक जीवनको हिस्सा बनाउन थालेको छ।

अनुसन्धान, विकास र व्यावसायिक प्रयोगमा सक्रिय ३०० भन्दा बढी रोबोटिक्स कम्पनी रहेको सिङ्गापुरमा अब रोबोटलाई विभिन्न क्षेत्रमा जनशक्तिको सहयोगीका रूपमा परिचालन गर्ने तयारी भइरहेको छ।

सिङ्गापुरको दक्षिणी तटमा रहेको पर्यटकीय टापु सेन्टोसा स्वचालित सवारीसाधन परीक्षणको नयाँ केन्द्र बनेको छ । सन् २०२७ को सुरुदेखि पर्यटक तथा आगन्तुकले राइड–हेलिङ एपमार्फत स्वचालित मिनीबस बुक गरेर टापुभित्रका यातायात केन्द्र, होटल र पर्यटकीय स्थलसम्म यात्रा गर्न सक्नेछन्।

सेन्टोसा विकास निगम र राइड–हेलिङ कम्पनी टाडाबीचको सहकार्यमा सञ्चालन हुने उक्त सेवा चीनको ग्वाङ्झाउमा मुख्यालय रहेको वेराइड कम्पनीले विकास गरेका बसमार्फत उपलब्ध गराइनेछ। आठ जनासम्म यात्रु बोक्न सक्ने यी बसले सडकमा पैदलयात्री र अन्य सवारीसाधन देख्दा गति कम गर्ने तथा आवश्यकताअनुसार मोडिने सुविधा राखेका छन्।

हालै गरिएको परीक्षणमा वर्षाका बीच पनि बसले सहज रूपमा यात्रा गरेको थियो। बसभित्र राखिएको स्क्रिनमा वरपरका सवारीसाधन र पैदलयात्रीको वास्तविक समयको त्रिआयामिक दृश्य देखिने व्यवस्था छ।

सेन्टोसामा स्वचालित बसको परीक्षण पहिलोपटक हुन लागेको भने होइन । सन् २०२५ जुलाईदेखि वेराइडका सवारीसाधनलाई रिसोट्र्स वल्र्ड सेन्टोसाको शून्य दशमलव ४९ वर्ग किलोमिटर क्षेत्रमा सञ्चालन अनुमति दिइएको थियो । नयाँ परीक्षणले सन् २०२७ देखि टापुको पश्चिमी क्षेत्र समेट्ने र क्रमशः अन्य क्षेत्रमा विस्तार हुने योजना छ ।

हाल प्रत्येक बसमा तालिमप्राप्त सुरक्षा कर्मचारी रहनेछन्। वेराइडका अन्तर्राष्ट्रिय व्यापार निर्देशक निकोलस टेले आवश्यक परीक्षण पूरा गरी सुरक्षित सञ्चालन प्रमाणित भए भविष्यमा पूर्ण चालकविहीन सेवा सञ्चालन गर्न सकिने बताए। सेन्टोसा विकास निगमका प्रमुख कार्यकारी अधिकृत थियेन क्वि एन्गले सेन्टोसालाई नयाँ यातायात प्रविधि परीक्षण गर्ने ‘जीवित प्रयोगशाला’ बनाउने लक्ष्य रहेको बताए।

सिङ्गापुरका अन्य क्षेत्रमा पनि यस्ता प्रयोग भइरहेका छन् । पङ्गगोल डिजिटल जिल्लामा सामान ढुवानी, सरसफाइ र सुरक्षा गस्तीका लागि स्वचालित रोबोट परीक्षण गरिँदैछ भने जुराङ इनोभेसन जिल्लामा स्वचालित निर्माण उपकरणको परीक्षण भइरहेको छ। समुद्री क्षेत्रमा स्वचालित जहाज र ड्रोनसमेत परीक्षणका क्रममा छन्।

दैनिक सार्वजनिक सेवामा पनि रोबोटको प्रयोग बढेको छ । यस वर्ष अगस्टको अन्त्यदेखि सेप्टेम्बरको मध्यसम्म लिटिल इन्डिया एमआरटी स्टेसनमा १।२७ मिटर अग्लो मानवरूपी रोबोट परिचालन गरिएको थियो । हरियो रङको भेस्ट लगाएको उक्त रोबोटले यात्रुलाई बाटो पहिल्याउन सहयोग गरेको थियो।

चाङ्गी विमानस्थलमा सरसफाइका लागि रोबोट प्रयोग भइरहेको छ । त्यस्तै, सामाजिक सेवा संस्था लायन्स बेफ्रेन्डर्सले वृद्धवृद्धाको बसोबास बढी भएका आवासीय भवनमा सामान पु¥याउन स्वचालित रोबोट परिचालन गरेको छ । ती रोबोटले लिफ्टसमेत आफैँ प्रयोग गरी खाना, औषधि र अन्य आवश्यक सामग्री सम्बन्धित घरसम्म पुर्‍याउँछन्।

सार्वजनिक सुरक्षाका लागि पनि रोबोटको प्रयोग विस्तार भइरहेको छ । गत सेप्टेम्बरमा सिङ्गापुरले होम टिम ह्युमनोइड रोबोटिक्स सेन्टर सञ्चालनमा ल्याएको थियो । उक्त केन्द्रमा विस्फोट भएका स्थानको अनुसन्धान, खतरनाक तरल पदार्थको व्यवस्थापन तथा जेलभित्र प्रतिबन्धित वस्तुको खोजीजस्ता जोखिमपूर्ण कामका लागि रोबोटलाई तालिम दिइन्छ । यसबाट सुरक्षाकर्मीलाई जोखिमपूर्ण अवस्थामा प्रत्यक्ष खटाउनुपर्ने आवश्यकता घट्ने अपेक्षा गरिएको छ ।

सन् २०२८ सम्ममा सुरक्षाकर्मीसँगै वास्तविक कार्यक्षेत्रमा परिचालन गर्न सकिने पहिलो मानवरूपी रोबोट तैनाथ गर्ने सिङ्गापुरको योजना छ।

सिङ्गापुर आर्थिक विकास बोर्डको यस वर्ष प्रकाशित प्रतिवेदनअनुसार मुलुकमा अनुसन्धान तथा विकास, प्रविधि निर्माण र प्रयोगमा संलग्न ३०० भन्दा बढी रोबोटिक्स कम्पनी सञ्चालनमा छन्। ती कम्पनीले उत्पादन, स्वास्थ्य सेवा, आतिथ्य, महत्त्वपूर्ण पूर्वाधार, ढुवानी तथा आपूर्ति व्यवस्थापनलगायत क्षेत्रमा काम गरिरहेका छन्।

  • रासस

प्रकाशित मिति: २५ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com