काठमाडौं । जीवनसाथी खोज्न डेटिङ एप प्रयोग गर्दा पनि विवाह गर्न नसके शुल्क नै फिर्ता पाइने भएको छ। चीनको एक कृत्रिम बौद्धिकतामा आधारित डेटिङ एपले प्रयोगकर्तालाई यस्तो अनौठो सुविधा ल्याएको हो।

चीनको ‘लियाङपेई एआई’ नामक एपले प्रयोगकर्ताबाट वार्षिक दुई हजार युआन अर्थात् करिब ४५ हजार रुपैयाँ शुल्क लिन्छ। तर, एपको सेवा प्रयोग गरेको तीन वर्षभित्र विवाह गर्न नसके उक्त रकम पूरै फिर्ता गर्ने वाचा गरेको छ।

सामान्य डेटिङ एपमा एकैपटक धेरै व्यक्तिसँग कुराकानी गर्न सकिने भए पनि लियाङपेई एआईले भने एक समयमा एक जनासँग मात्र सम्बन्ध अघि बढाउन प्रोत्साहित गर्छ। यसले दुवै पक्षलाई एकअर्कालाई बुझ्न र सम्बन्धलाई गम्भीर रूपमा अघि बढाउन सहयोग पुग्ने एपको विश्वास छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार एपका संस्थापक जेङ सिन्सुनले एकपटकमा एक जनासँग मात्र भेटघाट र कुराकानी गर्दा सम्बन्ध निर्माणमा बढी ध्यान दिन सकिने बताएका छन्।

यो एपमा खाता खोल्नुअघि प्रयोगकर्ताले करिब २० मिनेट एआईसँग कुराकानी गर्नुपर्छ। त्यसका आधारमा एआईले प्रयोगकर्ताको पारिवारिक पृष्ठभूमि, शिक्षा, पेसा, रुचि, व्यक्तित्व, जीवनशैली र आफूले खोजेको जीवनसाथीसम्बन्धी अपेक्षाको विस्तृत विवरण तयार गर्छ।

एपमा ‘एआई रणनीतिकार’ नामक सुविधा पनि छ। यसले प्रयोगकर्ताको प्रोफाइल र कुराकानीका आधारमा सम्बन्धमा देखिएका समस्या विश्लेषण गरी आवश्यक सुझाव दिने बताइएको छ।

गम्भीर सम्बन्ध खोजिरहेका मानिसलाई लक्षित गरी स्थापना गरिएको यस एपमा हाल ३५ हजारभन्दा बढी प्रयोगकर्ता दर्ता भएका छन्। एपको प्रयोगकर्ता ग्राहकमा रूपान्तरण हुने दर करिब नौ प्रतिशत रहेको छ। यसले लगानीकर्ताबाट एक करोड ५० लाख युआन लगानीसमेत जुटाएको छ।

एआईको सहयोगमा जीवनसाथी खोज्ने र तीन वर्षभित्र विवाह हुन नसके शुल्क फिर्ता दिने यसको व्यावसायिक मोडेलले चीनमा चर्चा पाएको छ।

प्रकाशित मिति: २६ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com