हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव आफन्तले बुझेका छन्। पोस्टमार्टमपछि शुक्रबार उनीहरूका परिवारलाई शव हस्तान्तरण गरिएको हो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं दुर्घटना छानबिन समितिका संयोजक शेषकान्त पौडेलसँग भएको छलफलपछि आफन्तले शव बुझ्न सहमति जनाएका हुन्।
दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये माइक्रोबस चालकको शव आफन्तले बिहीबार साँझ नै बुझिसकेका थिए। बाँकी १३ शव हेटौँडा अस्पतालको शवगृहमा राखिएका थिए।
मृतकका परिवारले उचित क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा तथा पालनपोषणको व्यवस्था, परिवारका सदस्यलाई रोजगारी र दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग राखेका थिए। माग पूरा नभएसम्म शव परीक्षण गर्न नदिने र शव नबुझ्ने अडानसमेत उनीहरूले लिएका थिए।
प्रशासनसँगको छलफलमा पीडित परिवारका माग सात दिनभित्र सम्बोधन गर्न पहल गर्ने सहमति भएपछि शव परीक्षणका लागि बाटो खुलेको थियो। सोही सहमतिपछि पोस्टमार्टम सम्पन्न गरी शुक्रबार शव आफन्तलाई बुझाइएको हो।
पीडित परिवारका तर्फबाट मधेस प्रदेशका पूर्वअर्थमन्त्री एवं प्रदेशसभा सदस्य सञ्जयकुमार यादव र चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले पनि माग सम्बोधनका लागि पहल गरेका थिए।
पारिवारिक स्रोतका अनुसार हेटौँडाबाट बुझिएका सबै शव शुक्रबार नै सर्लाही पुर्याएर अन्त्येष्टि गरिनेछ।
उक्त दुर्घटनामा एकै परिवारका छ जनासहित १४ जनाको मृत्यु भएको थियो भने अन्य छ जना घाइते भएका थिए।

प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार













प्रतिक्रिया