सिन्धुली। सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको माइक्रोबस सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको हो।

मङ्गलबार दिउँसो करिब २ बजे बीपी राजमार्गअन्तर्गत पलासेस्थित सडकमा मधेश प्रदेश ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई अधेरी खोलाको बगरमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा माइक्रोबसमा सवार चालकसहित सबै १४ जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।

घाइतेमध्ये नौ जनाको पहिचान खुलेको छ। पहिचान खुल्नेमा धनुषाको शहीदनगर नगरपालिका–८ का चालक दीपक कुमार दास, शहीदनगर–७ की १७ वर्षीया रानी कुमारी मण्डल तथा शहीदनगर–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित रहेका छन्।

त्यस्तै, ललितपुरको भैँसेपाटीकी ३६ वर्षीया प्रियाङ्का साह र उनका छोरीहरू १६ वर्षीया जेनी साह, ११ वर्षीया सफलता साह तथा ३ वर्षीया ओमी साह पनि दुर्घटनामा घाइते भएका छन्।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको नेतृत्वमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेर उद्धारमा खटिएको थियो।

बाँकी पाँच घाइतेको पहिचान खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १ मंसिर २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com