काठमाडौं । मलेसिया वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्य सचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्याललाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको हो। मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी ठगी गरेको प्रकरणमा उनको संलग्नता देखिएको भन्दै पक्राउ पुर्जी लिइएको स्रोतले जनाएको छ।
यसअघि यही प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो। मलेसियाली सरकारसँग भएको सम्झौताविपरीत श्रमिकबाट रकम संकलन गरी आर्थिक शोषण गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन्। कुँवर अछामको चौरपाटी गाउँपालिका–४ का ६० वर्षीय हुन् भने यादव सर्लाहीको चक्रघट्टा गाउँपालिका–बेल्हीका ६१ वर्षीय हुन्।
त्यस्तै, सोही मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख एवं सहसचिव उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत एवं उपसचिव निर्मला गुरुङ पनि पक्राउ परेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनीहरूविरुद्ध जाहेरी दिएपछि सीआईबीले अनुसन्धान अघि बढाएको हो। अनुसन्धानका क्रममा ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा मुद्दा अघि बढाइएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, पक्राउ पुर्जी जारी भए पनि पूर्वमुख्य सचिव अर्याल भने प्रहरीको सम्पर्कमा नरहेको बताइएको छ। उनी हाल सम्पर्कविहीन रहेको स्रोतको दाबी छ।
प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार













प्रतिक्रिया