काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिउँसो १ः४५ बजे नयाँदिल्ली प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलगायत सहभागी छन्। टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसहित कुल ३५ जना सदस्य रहेका छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यस्तै, सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुने जनाइएको छ।
दुई देशबीच ऊर्जा सहकार्य र सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ। यसका साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गरिने बताइएको छ।
भ्रमणको पहिलो दिन भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोमबार प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।
प्रधानमन्त्री शाह भ्रमण सम्पन्न गरी सोमबार साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने तालिका छ। भ्रमण टोली फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमार्फत भ्रमणबारे जानकारी गराउनेछन्।

प्रकाशित मिति: ६ मंसिर २०८३, आइतबार













प्रतिक्रिया