काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्।
सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा सम्पन्न नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।
सम्पूर्ण नेपाली जनताको तर्फबाट भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणका लागि आमन्त्रण गरेको उल्लेख गर्दै बालेनले भने, ‘सम्पूर्ण नेपाली जनताको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई नेपाल भ्रमणको निमन्त्रणा दिन चाहन्छु।’
यसैगरी, प्रधानमन्त्री शाहले भारतीय नागरिकलाई पनि नेपालका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यको भ्रमण गर्न आग्रह गरेका छन्।
उनले मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर र लुम्बिनीलगायतका ऐतिहासिक तथा धार्मिक स्थलको भ्रमण गर्न भारतीय नागरिकलाई निम्तो दिएका हुन्।
प्रधानमन्त्री शाहको निमन्त्रणाले नेपाल–भारतबीच धार्मिक पर्यटन र जनस्तरको सम्बन्ध थप विस्तार हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार












प्रतिक्रिया