काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणका उपलब्धिमाथि प्रश्न उठाएका छन् । उनले भ्रमणका क्रममा नेपाली उत्पादनको निर्यात र नेपाल–भारत सीमा विवादजस्ता महत्त्वपूर्ण विषयले प्राथमिकता नपाएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले भारतसँगको व्यापारिक सम्बन्धमा नेपाली उत्पादनले भोग्दै आएका समस्याबारे पर्याप्त छलफल नभएको बताएका हुन् ।
उनले विशेषगरी नेपाली प्लाइउड र चिया निर्यातको विषय भ्रमणका क्रममा ओझेलमा परेको उल्लेख गरेका छन् । त्यस्तै, लामो समयदेखि विवादित नेपाल–भारत सीमा समस्यासमेत छलफलको प्राथमिकतामा नपरेको उनको टिप्पणी छ ।
‘प्लाइउड र चिया निर्यात त छायामा परेछन्। सीमा विवाद त संसद्मै बिर्को लगाएर गएका थिए। ब्याज पाएपछि ऋण जुन साहुले पनि दिन्छ। भिजन पत्र त भैँसी बेचेको रकम उठाउने माघे भाका जस्तै हो,’ बास्कोटाले लेखेका छन् ।
यद्यपि, उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको हवाई रुटसम्बन्धी सम्झौतालाई सकारात्मक रूपमा लिएका छन् ।
‘हवाई रुट सम्झौता राम्रो भयो। विज्ञहरूले केस्रा केलाउनुपर्ने हो– हेरौँ,’ उनले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता भएको थियो । भ्रमणका क्रममा हवाई रुट, व्यापार, पूर्वाधार तथा दुई देशबीचको सहकार्यका विभिन्न विषयमा छलफल हुनुका साथै केही विकास आयोजनाको उद्घाटन तथा शिलान्याससमेत गरिएको थियो ।
प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार













प्रतिक्रिया