काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुमवासी परिवारलाई विस्थापित नगर्न सरकारसँग आग्रह गरेका छन्।
भक्तपुरको मध्यपुर थिमी–बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका सुकुमवासी परिवारलाई उक्त स्थान खाली गर्न निर्देशन दिइएपछि घिसिङले यस्तो आग्रह गरेका हुन्।
जाडोको समयमा सुरक्षित आवासको व्यवस्था नगरी उनीहरूलाई पुनः विस्थापित गर्नु उचित नहुने उनको भनाइ छ। बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अशक्त व्यक्तिको अवस्थालाई विशेष ध्यान दिनुपर्ने उनले बताएका छन्।
घिसिङले भूमिहीन तथा सुकुमवासी समस्याको समाधान विस्थापन नभई पहिचान, संवाद र सम्मानजनक पुनर्स्थापना भएको उल्लेख गरेका छन्।
वैकल्पिक आवासको व्यवस्था नहुँदासम्म आश्रयस्थल खाली गराउने निर्णय स्थगित गर्न र प्रभावित परिवारका आधारभूत आवश्यकता सुनिश्चित गर्दै दीर्घकालीन समाधान खोज्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्। नागरिकलाई सुरक्षित आवास र सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएको उनको भनाइ छ।
प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार
















प्रतिक्रिया