काठमाडौं । सरकारले नियुक्ति प्रक्रिया टुङ्ग्याउन नसक्दा राष्ट्रिय सूचना आयोग चार महिनादेखि पदाधिकारीविहीन बनेको छ। आयोगमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्त नियुक्त हुन नसक्दा नागरिकका उजुरी तथा पुनरावेदनमाथिको सुनुवाइ प्रभावित भएको छ।

आयोगका पदाधिकारी नियुक्तिका लागि गत साउन २२ गते दरखास्त आह्वान गरिएको थियो। साउन २८ गतेसम्म आवेदन दिने समय तोकिए पनि चार महिनाभन्दा बढी बितिसक्दा नियुक्ति प्रक्रिया टुङ्गिएको छैन।

सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार गठित सिफारिस समितिले आफ्नो प्रक्रिया पूरा गरिसकेको आयोगले जनाएको छ। तर सरकारले नियुक्ति नगर्दा आयोगको नेतृत्व रिक्त छ।

आयोगका एक कर्मचारीका अनुसार दैनिक प्रशासनिक काम सञ्चालन भइरहे पनि पदाधिकारी नहुँदा उजुरी र पुनरावेदनमाथि सुनुवाइ हुन सकेको छैन। यसबाट सूचना माग्ने नागरिक प्रभावित भएको उनको भनाइ छ।

यता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भने नियुक्ति प्रक्रिया अघि बढिरहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव विष्णुप्रसाद कोइरालाले निर्णयको चरणमा प्रक्रिया पुगेको हुन सक्ने बताएका छन्।

सूचनाको हकका विज्ञ तथा सरोकारवालाहरूले आयोग लामो समय नेतृत्वविहीन रहँदा नागरिकको मौलिक अधिकार कार्यान्वयनमा गम्भीर असर परेको बताएका छन्। पूर्वअध्यक्ष तथा कानुनविद् डा. रामकृष्ण तिमिल्सिनाले सूचना आयोग लोकतन्त्रको महत्त्वपूर्ण आधार भएकाले यसलाई लामो समय रिक्त राख्न नहुने बताए।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले आयोग निष्क्रिय हुँदा सरकारी निकायबाट सूचना नपाएका नागरिकले न्याय खोज्ने ठाउँसमेत प्रभावित भएको बताए। त्यस्तै, महासंघका उपाध्यक्ष तथा सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद बागचन्दले पुनरावेदनमाथि सुनुवाइ, निर्णय र कारबाहीको सिफारिस गर्ने प्रक्रिया ठप्पजस्तै बनेको उल्लेख गरे।

सरोकारवालाहरूले नियुक्ति प्रक्रिया तत्काल टुङ्ग्याउन र सूचनाको हकसम्बन्धी विषयमा अनुभवी तथा विज्ञ व्यक्तिलाई आयोगको नेतृत्वमा ल्याउन सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति: १२ मंसिर २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com