काठमाडौँ । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले आफू पूर्व निर्धारित कार्यक्रमअनुसार युरोप भ्रमणमा गएका बेला माधव नेपाल भाग्यो भनेर समाचारहरु प्रकाशित भएकोमा चित्त दुखाएका छन् ।
सोमबार युरोपबाट नेपाल फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले माधव नेपाल भाग्ने खालको मान्छे नभएको प्रस्ट्याए । साथै उनले बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम मुछिएपनि आफूले कुनै कमजोरी नगरेको भन्दै त्यसको छानबिनका लागि सहयोग गर्न तयार रहेको बताए।
‘मैले बिराएको छैन, कुनै अपराध गरेको छैन, लेनदेन गरेको छैन । आत्तिएको पनि छैन तर अलिअलि चित्त दुखेको छ’, नेपालले भने, ‘बालुवाटार प्रकरणमा केही कमजोरी भएको छ भने त्यसको छानबिन होस्, मेरो सहयोगी भूमिका रहनेछ ।’ अध्यक्ष नेपालले आफूले कुनै अपराध नगरेकाले ललिता प्रकरणमा आफ्नो नाम जोडिए पनि संलग्नता नरहेको दाबी गरे ।
‘कतिपयले त माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल भाग्ने खालको मान्छे होइन । गोली खाँदा त नभाग्ने, राजाले गिरफ्तार गर्न खोज्दा त नभाग्ने मान्छे म । कुनै गल्ती अपराध र बदमासी नगरेको सन्दर्भमा ’, उनले भने, ‘कुनैपनि कानुनको प्रक्रिया अन्तर्गत प्रोसेसहरु अघि बढ्छन् ।’
उनले आफू लतारिएर स्वदेश नफर्केको पनि बताए । आफू युरोप जाने तयारीमा रहनु र सर्वोच्चको आदेश काकतालि जस्तै भएको पनि उनले सुनाए । उनले देशको परिस्थितले गर्दा आफू दुई देशको भ्रमण छोट्याएर फर्किएको भन्दै कुनै खास खास बेलामा नेताहरुको महत्वपूर्ण भूमिका हुने बताए ।
प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार













प्रतिक्रिया