काठमाडौँ । आईसीसी टी-२० विश्वकप छनोटमा नेपालले आज ओमानसँग खेल्दै छ। खेल बिहान ९ बजे टीयू क्रिकेट मैदानमा सुरु हुनेछ।
समूह ‘ए’ मा रहेका दुवै टिम सेमिफाइनल प्रवेश गरिसकेका छन्। यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। समूहका अघिल्ला खेलमा दुवै टोलीले सिंगापुर र मलेसियालाई पराजित गरेका थिए।
टी-२० आईमा नेपाल र ओमानबीच चार खेल भएको छ। जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ।
कीर्तिपुरमा हुने दोस्रो खेलमा सिंगापुर र मलेसिया प्रतिष्ठाका लागि भिड्नेछन् । मूलपानीस्थित माथिल्लो मूलपानी मैदानमा हुने पहिलो खेलमा हङकङ र यूएई भिड्नेछन् । दोस्रो खेलमा बहराइनले कुवेतको चुनौतीको सामना गर्नेछ ।
सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिम आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट हुनेछन्
प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहिबार
प्रतिक्रिया