काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाबीच नयाँ चरणको द्वन्द्व सुरु भएको छ।

१८ महिनायता मेयर साम्पाङलाई साथ दिँदै आएका उपमेयर बेघा आइतबार पहिलो पटक कड्किन पुगे। उनले आइतबार बसेको कार्यपालिका बैठकमा मेयर साम्पाङमाथि खनिए।

advertisement

कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो हटाएको कुरा निकाल्दै आफ्नो भनाइ सुरु गरेका उपमेयर बेघाले आफ्नोबारे सार्वजनिक रुपमा गरेको टिप्पणीको पनि निन्दा गरेका छन्।

उक्त बैठकमा मेयर साम्पाङले केही समयअघि फेसबुकमा सेयर गरेको एउटा कन्टेन्टलाई लिएर आपत्ति जनाएका हुन्। आफूलाई विषालुको संज्ञा दिएको उक्त सामाग्रीलाई लिएर बेघाले आक्रोश पोख्दै आपत्ति जनाएपछि बैठक हलमै तनाव भएको हो।

‘तपाईले खेलाँची गरेको हो? किन त्यो कन्टेन्ट सेयर गर्नुभयो?’ उपमेयर बेघाले आक्रोशित मुद्रामा भने, ‘तपाईंलाई आँखा चिम्लेर काँधमा बोकेर हिँडेको हो, तर जसले बोक्छ उसको टाउकोमा दिसा पिसाब गर्दै नहिड्नुस्।’

उनले आफू पनि जनताको म्यान्डेट पाएर आएको बताए।‘मलाई उपमेयर तपाईँले बनाएको हो? कानुनबाहिरको तपाईँको आदेश मान्दिनँ’, उनले भने।

उपमेयर बेघाले आफूबारेको विवादित स्टाटस हटाउन र असहयोग गरेको पुष्टि गर्न बारम्बार चुनौती दिए।

जवाफमा मेयर साम्पाङले बोलिसकेको कुरा फिर्ता नहुने बताएका थिए। आफूले भिडिओ सेयर गर्नुको कारण पनि सुनाए।

मेयरले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको विषयमा उपमहानगरपालिकाको लेटरप्याड प्रयोग गरेर बेघाले क्षमा मागेका थिए। मेयर राईले बेघाको यस्तो कार्यले असहयोग भएको आरोप लगाए।

‘माफी माग्नुपर्यो भने मैले माग्ने हो, तपाईंले त्यसरी माग्ने होइन,’ मेयर साम्पाङले बैठकमा भने।

बेघाले १८ महिनादेखि निरन्तर साथ दिए पनि अहिले घाँटी अठ्याएको बताए। आफूमाथि लगाएको आरोप पनि पुष्टि गर्न उनलाई चुनौती दिए। आफूलाई लगाएको आरोपबारे प्रष्ट जवाफ नदिएसम्म बैठकमा बोलिरहने पनि कुरा राखे।

बेघाले १८ महिनायता आफूले गरेको असहयोगबारे पुष्टि गर्न चुनौती दिँदै त्यो पुष्टि गर्न नसकेपछि अब अवरोध थाल्ने बताए।

तर उता मेयर साम्पाङले बोलिसकेको कुरा नफर्किने बताउँदै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएकोबारे उपमेयर बेघाले उपमहानगरको लेटरप्याड प्रयोग गरेर असहयोग गरेको बताए। उपमेयर बेघाले आफूलाई त्यही कुरामा पनि असहयोग गरेको उनले बताए।

मेयर साम्पाङ र उपमेयर बेघाबीच बैठक हलमै चर्काचर्की भएपछि वडाअध्यक्षहरूले बोल्ने समय मागे। वडाअध्यक्षहरूले कार्यपालिका बैठकमै झगडा र विवादले धरानको बेइज्जत भएको गुनासो गरे।

कार्यपालिका बैठकको झगडा र विवादले धरानको बेइज्जत भइरहेको वडाध्यक्षहरूले बताए। उनीहरुले मेयर-उपमेयरसँगै कार्यपालिकाका सबैजना मिलेर अघि बढ्न र अभिभावकीय भूमिका खेल्न भने।

केही महिना अघिसम्म मेयर र वडाध्यक्षहरूबीच चर्काचर्की हुँदा उपमेयर बेघाले मिल्न आग्रह गर्थे। तर आइतबारको कार्यपालिकामा भने वडाध्यक्षहरूले मेयर र उपमेयरलाई मिलेर अघि बढ्न सुझाए।
कार्यपालिका बैठकमा उपस्थित १७ नम्बर वडाका वडाध्यक्ष मनोज भट्टराईले जनप्रतिनिधिका कारण धरान बद्नाम हुँदै गएको बताए।

‘१८ महिना उपमेयरले हाँसेरै सहेँ भन्नुभयो। हामी वडाध्यक्षहरु एकातिर लागेर संघर्ष गर्यौं,’ उनले धरानका जनप्रतिनिधिलाई धेरैले चिन्ने गरेको बताउँदै भने, ‘तर कसरी चिन्छन् भन्ने कुरा मुख्य हो। धरानबाहिर नाटकको सहरका रुपमा चिन्दा रहेछन्।’

मेयर र उपमेयरबीच बाझो भएपछि आइतबार बिहान ८ बजेको बैठक दिउँसो २ बजे बैठक पुनः बस्ने गरि स्थगित गरिएको थियो।

  • नेपाल खबर

प्रकाशित मिति: २९ पुस २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com