काठमाडौँ । फूलपातीको अवसर पारेर प्रदर्शनमा आएका तीन फिल्म ‘छक्का पन्जा– ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ आज बिहिबारबाट तेस्रो सातामा प्रवेश गर्न सफल भएका छन् । यीमध्ये ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ ले आक्रामक व्यापार गरेका छन्, भने ‘ज्वाइँ साब’ले पनि राम्रो कमाइ रहेको निर्माण पक्षको भनाई छ ।

‘छक्का पन्जा’को सिरिजलाई निरन्तरता दिँदै दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले ‘छक्का पन्जा– ५’ बनाएका हुन् । फिल्मको यसअघिका सिरिजको रेकर्ड तोड्दै अगाडि बढेको फिल्मले अहिलेसम्म १७ करोड बढी व्यवसाय गरिसकेको बताइन्छ । तर पहिलो साताको ११ करोड ५० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको सार्वजनिक भएपछिको ग्रस कलेक्सन आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन ।

दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा ५’ दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी र मेक्सम गौडेल लगायतको अभिनय छ । फिल्मका कार्यकारी निर्माता निर्मल शर्मा र केदार घिमिरे ‘माग्ने बुढा’ छन् ।

‘१२ गाउँ’ कुनै समय नेपाली फिल्म क्षेत्रमा राज गरेका एक्सन स्टार बिराज भट्टले निर्देशन गरेको फिल्म हो । पहिलो साता १० करोड ५ लाख रुपैयाँ कलेक्सन गरेको दाबी गरिएको फिल्मले अहिलेसम्म १३ करोड कमाएको चर्चा छ । केही दिनमै दोस्रो साताको कलेक्सन सार्वजनिक हुने निर्माण युनिट बताउँछ ।

यस्तै दीपक–दीपाको टिमबाट बाहिरिएका जितु नेपालको मुख्य भुमिका रहेको फिल्म ‘ज्वाइँ साब’ पनि तेस्रो सातामा प्रवेश गर्न सफल भएको छ । एकसाथ रिलिज भएका तीन फिल्ममा सबैभन्दा कमजोर व्यवसाय गरेको फिल्मले १० दिनमा ३ करोड २५ लाख ग्रस कलेक्सन गरेको विवरण सार्वजनिक गरेको थियो । फिल्मको त्यसयताको कलेक्सनबारे जानकारी दिइएको छैन ।

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com