एजेन्सी । कार्ल मार्क्स र एंगेल्सले सन् १८४८ मा कम्युनिस्ट लिगका लागि लेखेको घोषणा पत्रको पहिलो वाक्यमा लेखेका थिए– ’आज सारा युरोपलाई साम्यवादको भूतले सताइरहेको छ ।’ त्यसको १७६ वर्षपछि, अहिले दक्षिण एसियालाई अर्को भूतले तर्साइरहेको छ । त्यो हो तख्ता पलटको भूत ।

सन् २०२२मा कोरोना पश्चात् अर्थतन्त्रमा देखा परेको व्यापक मन्दिका कारण श्रीलंकामा जनताको आक्रोश विस्फोट भयो । शिङ्हालि भाषामा संघर्ष वा आन्दोलनको अर्थ दिने ‘अर्गालय’ नाम दिइएको आन्दोलन भयो ।

त्यो आन्दोलनले श्रीलंकाको राष्ट्रपति भवन मात्रै कब्जा गरेन । श्रीलंकाको राजनीतिमा लामो समयदेखि नियन्त्रण कायम गरिरहेका राजापाक्षे घरानाका नेताहरू राष्ट्रपति गोतावाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई सत्ता च्युत गरिदियो । उनीहरू देश छाडेर भाग्नु पर्ने अवस्था बन्यो ।

आन्दोलनको अर्को झिल्का बंगलादेशमा देखियो । बंगलादेश विभाजनको क्रममा भएको स्वतन्त्रता आन्दोलनमा संलग्न व्यक्ति र उनीहरूका परिवारलाई दिने गरिएको आरक्षणबारे अदालतको फैसलापछि सुरु भएको विद्यार्थी आन्दोलन बिस्तारै फैलिँदै गयो । राज्यको धरपकड र दमनले त्यसलाई थप फैलिन सहयोग गर्‍यो ।

अन्ततः दशक भन्दा लामो समय बंगलादेशको राजनीतिमा कब्जा जमाएर शक्तिशाली उपस्थिति जनाइरहेकी शेख हसिना वाजेद आफ्नो पदबाट राजीनामा गर्दै विशेष विमान मार्फत भारतमा शरण लिन पुगिन । अहिले बंगलादेशको नेतृत्व मोहमद युनुसले गरिरहेका छन् । आज पनि बंगलादेश आफ्नो सङ्क्रमण व्यवस्थापनको आन्तरिक र बाह्य गाँठो फुकाउने अन्योलमै अघि बढी रहेको छ ।
श्रीलंका र बंगलादेशका आन्दोलन तथा तख्तापलटबारे आर्थिक तथा भूराजनीतिक पाटापक्षबारे बहस अझै जारी छ । यद्यपि निर्वाचनमा ठुलो जनमत पाएको भनिएका सरकारहरू सडक आन्दोलनले बढारेको दृष्टान्तका रूपमा यी मुलुकहरू अहिले दक्षिण एसियाको राजनीतिमा चर्चाका विषय बनिरहेकै छन् ।

हिन्द महासागरको किनाराबाट अरब सागरको छेउमा आन्दोलनको झिल्को पुग्न धेरै समय लागेन । इस्लामवादको डी–स्क्वायर भनिने संसद् भवन छेउको चोकमा आममानिस भेला हुन थाले । अर्थात् पाकिस्तान एक पटक फेरी सडक आन्दोलनको माहौलमा आइपुग्यो ।

नोभेम्बर २६ मंगलबारको दिन बिहानै प्रदर्शनकारीहरू इस्लामवादको मुख्य चोक डी–स्क्वायरमा पुग्नका लागि जुलुसमा लामबद्ध भएर आउन थालिसकेका थिए । डी–स्क्वायर पाकिस्तानको संसद् भवनबाट केही सय मिटरको दुरीमा रहेको चोक हो । भेला भएका प्रदर्शनकारीहरू ‘सबका जिग्री, सबका यार, कैदी नम्बर आठ सौ चार !’ नारा लगाई रहेका थिए ।

इस्लामवादमा हुने गरेका आन्दोलनहरूमा यो चोकको महत्त्व सन् १९८० कै दशकदेखि रहँदै आएको छ । जतिबेला पाकिस्तानको सैन्य शासन विरुद्ध आममानिसले ‘डेमोक्रेसी’ को झल्को आउने गरी यस चोकको नाम ‘डी–स्क्वायर’ राखिदिएका थिए ।

गत मेमा प्यालेस्टाइनको गाजामा भएको इजरायली हमला विरुद्ध भेला भएका प्रदर्शनकारीहरूले यो चोकको नाम– गाजा राखिदिएका थिए । इस्लामाबादको यो चोक परिवर्तनको हाँक उराल्ने चोक हो । यसको छातीमा कहिले परिवर्तनकारीले नारा लगाए त कहिले सैन्य शासकहरूले आफ्ना बुटले टेके ।

हो त्यही चोकमा अहिले पनि मानिस भेला भएका थिए । उनीहरू इमरान खानका लागि आएका थिए । उनीहरू अमेरिकाको समर्थनमा गरिएको सत्ता ‘कु’को खिलाफ आफ्नो आवाज त्यो चोकमा दर्ज गराउनका लागि आएका थिए ।

जुलुस मंगलबार इस्लामवाद आइपुग्दा उसले आफूलाई लकडाउन गरिएको इस्लामवादमा पायो । इन्टरनेट, पसल र विद्यालय बन्द थियो । सैनिकहरूले आम नागरिकको उच्च सतर्कतासाथ खानतलासी गरिरहेका थिए । सरकारी आदेशले पाकिस्तानको राजधानी अघोषित लकडाउनमा परिणत भई सकेको थियो ।

सरकारले प्रदर्शनकारीलाई ‘डी–स्क्वायर’ पुग्नबाट रोक्नका लागि बाटोमै ठुला सवारी साधन र कन्टेनरहरू राखेर अवरुद्ध गरेको थियो । खाइबर पख्तुनवा प्रान्तका मुख्यमन्त्री सरदार अलि अमिन खान गन्दपुर र बुशरा बानीको अगुवाइमा अघि बढिरहेका प्रदर्शनकारी रोकिन तयार भएनन् ।

प्रहरी तथा अर्धसैन्य दस्तासँगको भनाभनपछि मध्यान्हसम्ममा लाठिचार्ज, अश्रुग्यास र गोलि फायरिङ हुन थालिसकेको थियो । तर, आन्दोलनकारीका पाइला रोकिएनन् । बन्दुकका गोली र प्रहरीको अश्रुग्यासले आन्दोलनकारीलाई स्वागत गरिरह्यो आन्दोलनकारीले आफ्ना पाइला गाजा चोकतिर बढाइरहे ।

अन्ततः हजारौँ प्रदर्शनकारीका पाईलाले गाजा चोकलाई चुमे ।
झण्डै एक लाखको हाराहारीमा भेला भएका प्रदर्शनकारीले चर्को स्वरमा नारा लगाइरहे । साँझसम्ममा प्रहरीले धेरै प्रदर्शनकारीलाई पछाडी धकेल्न सफल देखिए पनि परिवर्तन खोजी रहेका पाकिस्तानी आन्दोलनकारीहरू पछि हट्न मानिरहेका थिएनन् ।

प्रदर्शनकारी तथा सरकारी पक्ष दुवै तर्फ ठुलो सङ्ख्यामा मानिस घाइते भए । चार अर्धसैनिक रेन्जर तथा दुई प्रहरी गरी ६ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । आन्दोलनकारीतर्फ चार हजार गिरफ्तारीमा परेका छन् भने मृतक र घाइतेको सङ्ख्या यकिन भइसकेको छैन ।

आन्दोलनकारीलाई सम्बोधन गर्दै इमरान खानकी पत्नी तथा चलिरहेको आन्दोलनकी नेतृ बुशरा वानीले भनिन्, ‘हाम्रो मुख्य माग इमरानको रिहाइ हो ।’ उनले इमरानको रिहाइ नभएसम्म इस्लामवाद र डी–स्क्वायर अर्थात् गाजा चोक प्रदर्शनकारीहरूले नछोड्ने बताइन् ।

इमरानलाई जेलमा अमानवीय तवरमा राखिएको तथा उनी माथि अत्याचार भएको दाबी गर्दै उनले इमरानको रिहाइ नै आन्दोलनको पहिलो सर्त भएको बताइन् ।

७४ वर्षीय इमरान खान पाकिस्तानका सफल क्रिकेट कप्तान हुन । उनको नेतृत्वमा पाकिस्तानले १९९२ को क्रिकेट विश्वकप जित्न सफल भएको थियो । विश्वकप फाइनलको अन्तिम विकेट आफैले लिएका उनी आफ्नो रिभर्स स्विङ शैलीको बलिङका अगुवा पनि मानिन्छन् ।

उत्कृष्ट बलिङले विकेट गिराउन माहिर उनलाई अहिलेको सरकारले अमेरिकी समर्थनमा क्लिन बोल्ड गरिदिएर जेल पुर्‍याएको थियो । अम्पायरको रूपमा पाकिस्तानी न्यायालयले उनलाई घाम समेत हेर्न नमिल्ने गरी अँध्यारो कोठामा थुन्न आदेश दिएको थियो ।
सन् १९९६ बाट राजनीतिमा आएका उनी लामो समयसम्म संसदीय राजनीतिमा सफल हुन सकेका थिएनन् । तर, सन् २०१८ को निर्वाचनमा २७० मध्ये ११६ स्थानमा विजय हासिल गर्दै उनको पार्टी पाकिस्तान तेहेरिक–ए–इन्साफ पहिलो पार्टी बन्न सफल भयो । त्यस लगत्तै उनी पाकिस्तानको प्रधानमन्त्री बने ।

आफ्नो कार्यकालको सुरुवातमा महँगा उपहार तथा सवारी साधनहरूको बिक्री गर्ने तथा ‘अनावश्यक कर्मचारी कटौती’ गर्ने नीति लिएका उनी छिट्टै पाकिस्तानी जनतामाझ लोकप्रिय भए । तर, उनको लोकप्रियताले उनलाई जेलतर्फ झन्–झन् नजिक पुर्‍याउँदै गई रहेको थियो ।

पाकिस्तानको राजनीतिमा ‘अल्लाह, आर्मी र अमेरिका’ बलिया शक्ति हुन भनेर टिप्पणी हुने गरे जस्तै उनलाई पनि तिनै तीनमध्ये एकले सत्ताच्यूत गराइदिएको थियो ।

इमरानले निर्वाचन जितेको समयमा अन्य पार्टीले सेनाले उनलाई सहयोग गरेको तथा धाँधली गरेको बताएका थिए । तर यस्तो टिप्पणी पाकिस्तानमा सामान्य जस्तै मानिन्छ । अमेरिकामा डोनाल्ड ट्रम्पको परिवर्तित विदेश नीति तथा भारतसँगको बढ्दो सम्बन्धका कारण बिस्तारै पाकिस्तान र अमेरिकाको सम्बन्धमा दरार देखिन थाल्यो ।

 

डोनाल्ड ट्रम्प र इमरान खानबिच एक खालको भनाभन नै हुन थाल्यो । पाकिस्तानमा बन्दै गरेको चिनिया परियोजना, चीन–पाकिस्तान आर्थिक कोरिडोरमा अमेरिकाले शंकाको नजरले धेरै अघिदेखि नै हेरी रहेको थियो ।

फेब्रुअरी २०२२ मा रुस–युक्रेन युद्ध सुरु भयो । पश्चिमा मुलुकले रुस र त्यहाँका राष्ट्रपति पुटिनलाई नाकाबन्दी र घेराबन्दी गर्न थाले । अमेरिका कुनै देशले रुससँग राम्रो सम्बन्ध नराखोस् भन्ने चाहन्थ्यो । इमरान खानले यसलाई सामान्य आदेशझैँ सम्झेर मस्को भ्रमणमा निस्किए । तर, अमेरिकाले यसलाई सकारात्मक रूपमा लिन सकेन ।

फलतः ऋणको अप्ठेरोमा परेको पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको आफ्नो सम्झौतामा आफूलाई पेलिएको महसुस गर्‍यो । कोषले पनि पाकिस्तानलाई विभिन्न सर्तमा थप कडाइ गर्न थाल्यो । तमाम बाह्य मुद्दाबिच पाकिस्तानको राजनीतिमा सेनाको असन्तुष्टि पनि बाहिरिन थाल्यो । यसैबिच इमरानको समर्थन गरिरहेका साना दलहरूले दिएको समर्थन फिर्ता लिए र इमरान सरकार ढल्यो ।

सरकारबाट बाहिरिएसँगै इमरानले सडकको बाटो रोजे । सरकारले इमरानलाई विभिन्न आरोपमा मुद्दा लगाउन थाल्यो । मुद्दाहरूको चाङमा एउटा मुद्दा थियो– अति गोप्य सरकारी दस्ताबेज सार्वजनिक गरेको । इमरानको आह्वानमा सडकमा आन्दोलन मात्रै बढी रहेको थिएन इमरान विरुद्ध न्यायालयमा अभियोगको फाइल पनि बढी रहेको थियो ।

त्यसपछि उनलाई हिरासतमा लिइयो । हिरासतमै रहेको बेला सन् २०२४ को जनवरीमा अदालतले उनलाई १० वर्षको जेल सजाय सुनायो । त्यस पश्चात् उनी अहिले रावलपिण्डी सहरमा रहेको अडियाला जेलमा कारावास जीवन बिताइरहेका छन् । जेलमा उनी कैदी नम्बर ८०४ हुन् ।

 

किन सुरु भयो अहिलेको आन्दोलन ?

पाकिस्तानको राजनीतिमा इमरान नयाँ अनुहार हुन । परम्परागत रूपमा त्यहाँ रहेका नवाज शरिफ लगायतको समूह र भुट्टो परिवारको दबदबाबिच उनले आश्चर्यजनक रूपमा आफूलाई उभ्याएका थिए । तर, उनको गिरफ्तारीसँगै उनको पार्टीको वैधानिकता पनि समाप्त भयो ।

अदालतले उनको पार्टीबाट साझा चुनाव चिन्हमा चुनाव लड्नसमेत रोक लगाइदिएको छ । अर्थात् इमरानको पार्टीबाट सत्ताले देख्ने गरी कसैले पनि शिर ठड्याउन मिल्ने छैन । सन् २०२३ को चुनावमा उनका समर्थकहरूले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडे । हिरासतमै रहेका इमरानका तस्बिर र भिडियोको व्यापक प्रचार भयो ।

चुनावमा इमरान समर्थक उम्मेदवारले २६५ मध्ये ९७ स्थानमा जीत हासिल गरे । यो सङ्ख्या कुनै अन्य पार्टीले जितेको भन्दा धेरै थियो । तर, उनीहरूलाई सरकार बनाउने अवसरबाट वञ्चित हुन पुगे । पाकिस्तानको राजनीतिमा सबैभन्दा धेरै मतदाताको समर्थन पाएको दल र त्यसको नेतालाई गरिएको व्यवहारले पाकिस्तान अहिले फेरी सडकमा छ ।

पाकिस्तानमा पछिल्लो आमनिर्वाचन पश्चात् राजनीतिक असन्तुष्टि सतहमा देखिन थालेका छन् । यसै क्रममा पाकिस्तान तेहेरिक–ए–इन्साफ पार्टीले जितेको खाइबर पख्तुनवाका नेता तथा कार्यकर्ताको व्यापक सहभागितामा इमरानकी श्रीमतीले अगुवाइ गरेको मोटर गाडीको मार्च इस्लामवाद पुगेर सरकारलाई दबाब दिने उद्देश्यसाथ अघि बढेको थियो ।

सरकारले यसलाई रोक्नका लागि सकेको सबै प्रयत्न गरिरहेको छ । सिङ्गो इस्लामवादमा लकडाउन घोषणा गरिएको छ । इन्टरनेट सेवा अवरुद्ध पारिएको छ । मानिसहरूलाई भेला नहुन भनिएको छ । तर पनि प्रदर्शनकारीहरू डी–स्क्वायरमा भेला भई रहेका छन् । आफ्ना नेताको रिहाईको माग गरिरहेका छन् ।

 

प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com