काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनालाई लिएर विवाद चर्किरहेका बेला वरिष्ठ अधिवक्ता तथा नेपाली कांग्रेसका महासमिति सदस्य मोहन इङनामले सरकारको नीति र प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएका छन्।
इङनामले सरकार व्यापारीको निहित स्वार्थमा काम गरेर जनताको आवाजलाई उपेक्षा गरिरहेको गम्भीर आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्,- “यदि यो सरकार व्यापारीको हो भने, सरकारका पदाधिकारीहरूले तिनीहरूको स्वार्थ पूर्ति गर्न राज्य शक्ति दुरुपयोग गरिरहेका छन्।”
उनले मन्त्रीस्तरीय छलफलमार्फत केबलकार निर्माणबारे ठोस निष्कर्ष निकाल्न आग्रह गरेका छन्। उनले व्यापारीहरूको निहित ब्यापारीक स्वार्थ प्रवर्द्धन गर्न राज्य संयन्त्रको चरम दुरुपयोग भइरहेको भन्दै जनताले विरोध गर्नु स्वाभाविक भएको बताएका छन्।
इङनामले सरकारलाई चेतावनी दिँदै भनेका छन्, “जनताको असहमति उपेक्षा गर्दै तानाशाही शैलीमा शासन चलाउने प्रयास भयो भने यसको गम्भीर परिणाम भोग्नुपर्नेछ।” उनले सरकारका गतिविधिलाई जनविरोधी भन्दै व्यापारीका स्वार्थ अनुरूप सञ्चालन नगर्न आग्रह गरेका छन्। साथै, व्यापारिक फाइदाका लागि जनताको अधिकार र धार्मिक आस्थामाथि आघात पुर्याउने कुनै पनि कदम अस्वीकार्य हुने बताएका छन्।
उनले केबलकार विवादका क्रममा घाइते भएका सर्वसाधारण र सुरक्षाकर्मीको शीघ्र उपचारको व्यवस्था गर्न माग गर्दै सरकारले दमनको नीति त्याग्नुपर्ने बताए। साथै, समस्या समाधानका लागि तत्काल केबलकार निर्माण कार्य रोक्न आग्रह गरेका छन्।
प्रकाशित मिति: १२ फाल्गुन २०८१, सोमबार












प्रतिक्रिया