काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री बन्ने भएकाले बलियो नेपाल बनाउने सपना देखेको बताएका छन्।
महोत्तरीको मनराशिश्वामा शुक्रबार आयोजित सभामा आफू केपी शर्मा ओलीपछि प्रधानमन्त्री बन्ने भएकाले देशलाई बलियो बनाउने बताएका हुन्।
‘अहिले एउटा पार्टीको सरकार बन्न निकै गाह्रो छ । त्यसकारण दुइटा पार्टी मिलेर सरकार बनेको छ । अहिले ओलीजी हुनुहुन्छ । पछि काँग्रेसबाट प्रधानमन्त्री बन्ने हो । म पद ओगट्न चाहने नेता पनि होइन । धेरैपल्ट प्रधानमन्त्री भइसक्या छु । अर्को पटक पनि प्रधानमन्त्री बन्ने सम्भावना छ । मैले बलियो र मजबुत नेपाल बनाउने सपना देखेको छु, ’उनले भने ।
खडेरी हुने, हिमाल र हिउँ पग्लिने क्रम बढ्दै गएर जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालमा समेत परेकोले नेपालका सबै राजनीतिक दल जलवायु परिवर्तनको सवालमा एकमत हुनुपर्ने उनको भनाइ थियो ।
काँग्रेस ठूलो पार्टी भए पनि बहुमत नभएको उल्लेख गर्दै एक ढिक्का भएर अगाडि बढे आगामी चुनावमा एक्लै सरकार बनाउन सक्ने अवस्था आउनेसमेत देउवाको दाबी छ ।
प्रकाशित मिति: २४ फाल्गुन २०८१, शनिबार












प्रतिक्रिया