काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था समर्थक नेताहरूसँग लन्च मिटिङ गरेका छन्। बिहीबार काठमाडौंस्थित सोल्टी होटलमा पूर्वराजा शाहले ‘संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्टसँग करिब एक घण्टा भेटवार्ता गरेका हुन्।
विश्वासिलो स्रोतका अनुसार बिहान ११ बजेदेखि सुरु भएको यो भेटवार्तामा विभिन्न विषयमा छलफल भएको भए पनि त्यसबारे विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन।
‘संयुक्त जनआन्दोलन समिति’ले जेठ १५ गतेदेखि ‘जनआन्दोलन’ सुरु गर्ने घोषणा गरिसकेको छ। उक्त आन्दोलन राजसंस्था पुनर्स्थापना, हिन्दू राष्ट्रको पुनःस्थापना र संघीयता खारेज जस्ता मुद्दाहरूलाई लिएर हुने बताइएको छ। आन्दोलनको तयारीस्वरूप समिति दैनिक विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
यही सन्दर्भमा पूर्वराजा शाह र राजसंस्थाका पक्षपाती नेताहरूबीच लन्च मिटिङ भएको हो। यसअघि पूर्वराजा शाह १२ दिनसम्म नगरकोटमा बसेर विभिन्न राजावादी नेताहरूसँग छलफल गरेका थिए। त्यसैगरी, वैशाख ५ गते उनले निर्मल निवासमा राप्रपाका सात नेताहरूसँग लन्च मिटिङ गरेका थिए।
प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया