काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिनुपर्ने विपक्षीको मागबीच सत्तारूढ दल र शीर्ष नेताहरूले उनलाई दृढ भएर सामना गर्न सुझाव दिएका छन्।
सोमबार बिहान बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा गृहमन्त्री लेखकले आफूमाथि लागेका आरोपबारे प्रस्टिकरण दिएका थिए। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छापा र त्यसपछिका घटनाबारे विस्तृत जानकारी गराएका थिए।
बैठकमा सभापति देउवाले कुनै प्रमाणबिना लगाइएको आरोपका आधारमा राजीनामा आवश्यक नरहेको भन्दै गृहमन्त्री लेखकलाई संसद् र सार्वजनिक मञ्चहरूमा आफ्नो पक्ष प्रस्ट रूपमा राख्न निर्देशन दिएका छन्। पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्यायका अनुसार देउवाले भने, “अहिलेसम्म कुनै प्रमाण भेटिएको छैन, छानबिनको दायरामा पनि ल्याइएको छैन। यस्तो अवस्थामा अनावश्यक आरोपको आधारमा राजीनामा दिनु आवश्यक छैन। डटेर सामना गर्नुपर्छ।”
गृहमन्त्री लेखकलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले पनि समर्थन जनाएका छन्। आइतबार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का साथमा लिएर लेखक बालुवाटार पुगेका थिए, जहाँ उनले प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग भेट गरेका थिए। भेटपछि बालुवाटारमै सत्तारूढ गठबन्धनको शीर्ष तहको बैठकसमेत बसेको थियो।
बैठकमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकलाई नडराउन सुझाव दिएका थिए। उपसभापति खड्का र गृहमन्त्री लेखकको भनाइ अनुसार ओलीले भनेका थिए, “सोधपुछको औपचारिक प्रक्रिया सुरु पनि भइसकेको छैन। बाहिर जे–जति हल्ला भए पनि त्यसको आधारमा डराउन जरुरी छैन।”
त्यस्तै, अर्थमन्त्री पौडेलले पनि बाहिरको हल्ला र अफवाहले विचलित नहुन सल्लाह दिएका छन्। “एउटा कर्मचारीमाथि छानबिन भएको भन्दै तपाईं डराउनुहुन्न। तपाईं आफ्नो काममा केन्द्रित हुनुहोस्,” पौडेलको भनाइ बैठकमा साझा गरिएको थियो।
प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेल दुवैले गृहमन्त्री लेखकलाई साथ दिएपछि कांग्रेस नेताहरूले उनलाई सदनमा मजबूतीका साथ आफ्नो पक्ष राख्न सुझाव दिएका छन्। अब मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री लेखकले स्पष्ट रुपमा आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्।
प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया