काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो कदमप्रति गम्भीर प्रश्न उठाएका छन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि दाहालले आयोगको भूमिकामाथि नै प्रश्न उठाएका हुन्।
‘अख्तियारले गम्भीर प्रश्नको स्थिति बनाएको छ,’ दाहालले भने, ‘पहिला ललिता निवास प्रकरणमा अख्तियारले नै भनिसकेको थियो— प्रधानमन्त्री वा मन्त्रिपरिषद्को नीतिगत निर्णय उनीहरूको कार्यक्षेत्रबाहिर पर्छ। मैले आफैँले हेरेको छु, जसमा लेखिएको थियो कि बाबुराम भट्टराई र माधव नेपालजीलगायतका प्रधानमन्त्रीहरूका नीतिगत निर्णयबारे छानबिन गर्नु अख्तियारको क्षेत्राधिकारमा पर्दैन। अब भने सोही विषयमा पुनः मुद्दा दायर गरिनु गम्भीर प्रश्न हो। सायद जवाफ दिनेछन्।’
दाहालले पछिल्लो समयमा भएका निर्णयहरूका सन्दर्भमा गम्भीर बहस आवश्यक भएको पनि बताए। ‘२०६४ सालदेखि हालसम्मका सबै प्रधानमन्त्री र गृहमन्त्रीहरूको समेत छानबिन हुनुपर्छ भन्ने हाम्रो धारणा छ। जसले गर्दा कोही पनि छानबिनको दायराबाट बाहिर नहोस्,’ उनले स्पष्ट पारे।
तर, यस्ता मुद्दामा नीतिगत निर्णय र भ्रष्टाचारको सीमारेखा छुट्याउने विषयमा गम्भीर र सैद्धान्तिक बहस आवश्यक रहेको उनको भनाइ छ।
प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया