काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अन्तर्गत जारी विश्वकप लिग २ को प्रतिस्पर्धामा आज नेपालले आफ्नो तेस्रो खेलमा घरेलु टोली स्कटल्याण्डसँग आमनेसामने हुँदैछ। खेल नेपाली समयअनुसार आज दिउँसो ३:४५ बजे स्कटल्याण्डको डुन्डी मैदानमा सुरु हुनेछ।
यो नेपाल र स्कटल्याण्डबीच यस शृंखलाको दोस्रो भिडन्त हो। यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई रोमाञ्चक र ऐतिहासिक जित दिंदै दबाबमा पारेको थियो। बुधबार नेपालले नेदरल्याण्ड्सलाई पनि पराजित गर्दै शृंखलामा लगातार दोस्रो जित निकालेको हो।
नेपाल हाल जितको लयलाई निरन्तरता दिन आतुर देखिएको छ। आँकडाले पनि नेपालको आत्मविश्वास उच्च देखाउँछ—सन् २०२३ यता नेपाल स्कटल्याण्डसँग खेलेका ५ ओडिआई खेलमा अपराजित रहँदै ४ खेलमा जित र १ खेलमा बराबरीको नतिजा निकालेको छ।
अघिल्लो पटक सन् २०२४ को अक्टोबरमा अमेरिकाको डलासमा भएको लिग २ शृंखलामा नेपालले स्कटल्याण्डमाथि एउटा खेल जितेको थियो भने अर्को खेल वर्षाका कारण नतिजाविहीन बनेको थियो। त्यसअघि सन् २०२३ को फेब्रुअरीमा कीर्तिपुरमै नेपालले स्कटल्याण्डलाई दुई खेलमा पराजित गर्दै २ विकेट र ३ विकेटका जित हात पारेको थियो।
योसँगै नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म भएका ९ ओडिआई खेलमध्ये नेपालले ५ खेलमा जित हात पारेको छ, स्कटल्याण्डले ३ जित निकाल्दा १ खेल नतिजाविहीन बनेको छ।
स्कटल्याण्डले नेपालमाथि पछिल्लोपटक सन् २०२२ को डिसेम्बरमा नामिबियामा जित निकालेको थियो। त्यसयता भने स्कटल्याण्ड नेपालविरुद्ध जितविहीन रहँदै आएको छ।
यस शृंखलाका दुई जितपछि नेपाल लिग २ को अंकतालिकामा १४ खेलबाट १० अंकसहित सातौं स्थानमा रहेको छ। आजको खेल नेपालका लागि आत्मबल बढाउने र लिगको स्थिति मजबुत बनाउने अवसर हुनेछ।
प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया