काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गर्दै कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित दर्जनौँ नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा आयोजित विशेष कार्यक्रममा उनीहरूलाई औपचारिक रूपमा माओवादी केन्द्रमा स्वागत गरियो। कार्यक्रममा अध्यक्ष प्रचण्डले उनीहरूलाई पार्टीमा समावेश गर्दै माओवादीको नवीन अभियानमा सहभागी भएकोमा धन्यवाद ज्ञापन गरे।

advertisement

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अघि बढिरहेको उल्लेख गरे। साथै उनले विगतका त्रुटिहरूबाट सिक्दै पार्टीले जनतासँग पुनः सम्पर्क सुदृढ पार्न व्यापक अभियान थालेको जानकारी दिए।

‘समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजाँदै छौं,’ प्रचण्डले भने, ‘यसरी विभिन्न दलबाट माओवादीप्रति बढ्दो आकर्षण र पार्टी प्रवेशले हामीलाई थप ऊर्जा र प्रेरणा दिएको छ।’

उनले आगामी दिनमा पार्टीभित्र समायोजन भएका सबै नेताहरूलाई योग्य र उपयुक्त जिम्मेवारी दिइने स्पष्ट पारे। उनले २०६४ सालको निर्वाचनमा माओवादी पहिलो शक्ति बनेको स्मरण गर्दै फेरि एकपटक त्यस स्थानमा पुग्ने लक्ष्यसहित अघि बढेको बताए।

‘हामी जनताको अपेक्षा अनुसारको सुशासन, सामाजिक न्याय र समृद्धि दिने संकल्पका साथ अघि बढेका छौं,’ उनले भने, ‘माओवादीलाई फेरि पहिलो पार्टी बनाउने हाम्रो दृढ लक्ष्य हो।’

प्रचण्डले समाजवादी मोर्चा गठनप्रति पनि टिप्पणी गर्दै विप्लव नेतृत्वको नेकपा, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) र महेन्द्र राय यादव नेतृत्वको नेसपासँग पार्टी एकताको विषयमा छलफल भइरहेको जानकारी दिए।

उनका अनुसार समाजवादी मोर्चाको बलियो एकता र सहकार्यबाट देशमा स्थायित्व, विकास र समाजवादको यात्रालाई गति दिने विश्वास लिइएको छ।

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com