काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा सांसद पूर्णबहादुर खड्काले नागरिकता सम्बन्धी विधेयकलाई यथाशीघ्र पारित गर्नुपर्नेमा जोड दिएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारले समितिमा प्रस्तुत गरेको “नेपाल नागरिकता ऐन, २०६३” संशोधन विधेयकबारे छलफललाई निष्कर्षमा पु¥याउन आग्रह गरे।
“सरकारले विधेयकमार्फत के विषय समेट्न खोजेको हो, त्यो स्पष्ट गरेर छिटो निष्कर्षमा पुग्न जरुरी छ,” उपसभापति खड्काले भने। उनले विधेयकको मूल उद्देश्य नागरिकलाई तत्काल सेवा र अधिकार प्रदान गर्नु रहेको भन्दै त्यसैअनुसार कानुन बनाइनुपर्ने उल्लेख गरे।
खड्काले संवेदनशीलताको नाममा नागरिकलाई बारम्बार अन्योल र जटिल प्रक्रियामा पार्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए। “ऐन बनाउँदा सेवाग्राहीले तत्काल पाउनुपर्ने लाभ सुनिश्चित गरौँ। भावना राख्दै सबैकुरा एकैचोटि समाधान गर्न खोज्दा केही नपाउने स्थिति आउन सक्छ,” उनले भने।
उनले थपे, “हामी उदार पनि बनौँ, तर संवेदनशीलतालाई असर नपर्ने गरी अघि बढ्नुपर्छ। कहीँ न कहीँ अब ब्रेक थ्रु गर्न आवश्यक छ।”
उपसभापति खड्काले गैरआवासीय नेपाली (एनआरएन) का लागि पनि नागरिकता सम्बन्धी कानुनी प्रक्रिया छिटो टुंग्याउन सरकारको ध्यानाकर्षण गराए।
प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया