काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको फ्रान्सको पेरिसमा आयोजित ७७औं कान्स फिल्म फेस्टिभल भ्रमणसम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ।

आयोग स्रोतका अनुसार, मेयर शाह र उनका सचिवालयका सदस्यहरूले वैदेशिक भ्रमणका क्रममा गरेको खर्चबारे उजुरी प्राप्त भएपछि प्रारम्भिक अनुसन्धान गरिएको थियो। प्रारम्भिक छानबिनमा केही अनियमितता देखिएपछि थप अनुसन्धान अघि बढाइएको हो।

advertisement

महालेखा परीक्षकको २०८२ सालको प्रतिवेदनमा काठमाडौं महानगरले वैदेशिक भ्रमणका लागि ५२ लाख ५४ हजार ७७ रुपैयाँ खर्च गरेको उल्लेख छ। सो प्रतिवेदनमा अधिकांश खर्च नियमनविपरीत भएको ठहर गरिएको छ।

अनुमति प्रक्रियामै गडबडी
स्थानीय तहका कर्मचारीहरूको विदेश भ्रमणसम्बन्धी निर्देशिका, २०७५ अनुसार, प्रथम श्रेणीबाहेकका कर्मचारीको विदेश भ्रमणका लागि संघीय मामिला तथा प्रशासन मन्त्रालयको सचिवबाट अनुमति लिनुपर्ने प्रावधान छ। तर प्रतिवेदनमा महानगरका पदाधिकारी र कर्मचारीहरू बिना अनुमति नै विदेश भ्रमणमा गएको देखाइएको छ।

आयोगका एक अधिकारीले भने, “यो विषयमा हामी पहिलेदेखि नै चासो राखेर अनुसन्धान गरिरहेका थियौं। प्रारम्भिक अध्ययनमा केही कैफियत भेटिएकोले बयानका लागि केही व्यक्तिहरूलाई बोलाइएको छ।”

सल्लाहकारहरू छानबिनको घेरामा
सूत्रका अनुसार, आयोगले काठमाडौं महानगरका सल्लाहकार सुनिल लम्साल र कुमार ब्यन्जनकार (बेन) लाई बयानका लागि बोलाएको छ।

लम्साल ब्राजिलमा आयोजित एक कार्यक्रममा सहभागी हुन गएका बेला उनको हवाई टिकट खर्चमा अनियमितता भएको भन्दै महालेखा परीक्षकले प्रश्न उठाएको थियो।

कुमार बेन भने मेयर बालेन्द्र शाहसँगै २०८१ सालको वैशाख ३१ गते कान्स फिल्म फेस्टिभलमा सहभागी हुन गएका थिए। मेयर डेभिड लिसनार्डको औपचारिक निमन्त्रणामा उनीहरू फ्रान्स गएका हुन् भन्ने जानकारी मेयरको सचिवालयले दिएको थियो।

अख्तियारका अधिकारीका अनुसार, हालसम्म प्राप्त विवरणले यो विषय तत्कालै मुद्दा दायर गर्नुपर्ने खालको देखिए पनि बयान र छानबिनपछि थप विवरण स्पष्ट हुनेछन्। “कतिपय विषय रकम फिर्ता गर्नुपर्ने दिशामा जान सक्छन्,” ती अधिकारीले भने, “छानबिन अझै चलिरहेको छ।”

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com