काठमाडाैं । संसदको अवरोध हटाउन सत्ता पक्ष र प्रतिपक्षी दलका नेताहरूबीच छलफल भएको छ। बुधबार दिउँसो संघीय संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा दुवै पक्षका नेताहरूबीच बैठक बसेको हो।
यसअघि प्रतिपक्षी दलहरूबीच छुट्टै छलफल भएको थियो। सो छलफलमा ‘भिजिट भिसा’ प्रकरणमा संसदीय छानबिन समिति गठनको प्रस्ताव ल्याउने विषय उठाइएको थियो।
प्रतिपक्षी दलका नेताहरूले अहिले सोही विषयमा सत्ता पक्षका नेताहरूसँग छलफल गरिरहेका छन्, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
रास्वपाले सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले संसदीय छानबिन समिति गठन हुने अभिव्यक्ति दिएका कारण उक्त समिति गठन गर्नुपर्ने माग अघि सारेको हो।
प्रवक्ता गुरूङले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा भिजिट भिसा प्रकरणमा अख्तियारले कर्मचारीहरूमाथि अनुसन्धान गरिरहेको बताएका थिए। उनले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने बताए पनि धेरै भए संसदीय छानबिन समिति गठन हुनसक्ने बताएका थिए।
प्रतिपक्षी सांसदहरू भिजिट भिसा काण्डमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गर्दै लगातार प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै आएका छन्।
यसअघि रास्वपाले सहमतिको प्रयासस्वरूप नेपाली कांग्रेसलाई मस्यौदा समेत पठाएको थियो।
प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया