मुस्ताङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना प्रतिद्वन्द्वी दलहरू कांग्रेस र एमालेलाई दलाल र बिचौलियाका पक्षमा काम गरिरहेको आरोप लगाएका छन् ।
मुस्ताङमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र अन्य दलभन्दा भिन्न रहेको दाबी गरे । उनले भने, “माओवादी कुनै पनि हालतमा अरूजस्तो पार्टी होइन, हामी जनताको पक्षमा, जनताको अधिकारका लागि लड्ने पार्टी हौं । तर कांग्रेस र एमाले जनताको होइन, दलाल र बिचौलियाको सेवा गर्न व्यस्त छन् ।”
प्रचण्डले माओवादी कार्यकर्ताहरूलाई जनतामाझ पुग्न, उनीहरूको आत्मसम्मान र अधिकारका लागि सक्रिय भएर काम गर्न निर्देशन दिए । “जनतासँगको प्रत्यक्ष सम्पर्क, उनीहरूको समस्या बुझ्ने र समाधानतर्फ इमानदारीपूर्वक लाग्ने हाम्रो मुख्य जिम्मेवारी हो,” उनले भने ।
मुस्ताङको विकासप्रति आफ्नो पार्टी गम्भीर रहेको उल्लेख गर्दै उनले माओवादी केन्द्रले मुस्ताङलाई नमूना जिल्लाका रूपमा अगाडि बढाउने स्पष्ट खाका तयार गरेको बताए ।
“हामीले मुस्ताङका गाउँगाउँमा पुगेर जनतासँग संवाद गरेका छौं । यहाँको भौगोलिक जटिलता, जनजीवन र आवश्यकतालाई नजिकबाट बुझेका छौं । अब दीर्घकालीन योजना बनाएर काम गर्ने बेला आएको छ,” उनले प्रस्ट पारे ।
उनले मुस्ताङको विकास र समृद्धिका लागि पूर्वाधार, पर्यटन र स्थानीय उद्यमशीलतालाई प्राथमिकता दिने उल्लेख गरे । “मुस्ताङलाई समुन्नत बनाउने हाम्रो दृढ संकल्प छ, यस यात्रामा माओवादी केन्द्र प्रतिबद्धताका साथ अघि बढ्नेछ,” प्रचण्डले भने ।
प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया