काठमाडौं । भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीसम्बन्धी प्रकरणको छानबिनको माग गर्दै जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ। संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिपक्षी दलहरूले संसद् चल्न नदिएका हुन्।
यसै सन्दर्भमा बिहीबार बसेको प्रतिपक्षी दलहरूको बैठकले भिजिट भिसालाई माध्यम बनाई भइरहेको मानव तस्करीलाई ‘संगठित अपराध’को रूपमा लिँदै यसको स्थायी समाधानका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
बैठकपछिको निर्णय सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले सबै प्रतिपक्षी दलहरू छानबिन समिति गठनको विषयमा साझा धारणा बनाएको जानकारी दिए।
‘संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै प्रतिपक्षी दलहरू भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी जस्तो गम्भीर र संगठित अपराधको स्थायी अन्त्यका लागि संसदीय छानबिन समिति आवश्यक भन्ने निष्कर्षमा पुगेका छन्,’ उनले भने।
प्रतिपक्षी दलहरूले अब यो विषयलाई संसदीय तहमा निर्णायक रूपमा लैजाने तयारी गरिरहेका छन्।
प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया