काठमाडौँ । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक सारिएको छ। संघीय संसद् सचिवालयले सार्वजनिक सूचना जारी गर्दै आज दिउँसो ३ बजेका लागि निर्धारण गरिएको बैठक साढे ५ बजेसम्मका लागि सारिएको जानकारी दिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भिजिट भिसा प्रकरणमा ‘सेटिङ’ भएको आरोपसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका प्रमुख अध्यागमन अधिकृत तथा सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन थालेपछि यस विषयले संसद् तहसम्म गम्भीर असर पारेको छ।
प्रतिपक्षी दलहरूले घटनाको निष्पक्ष छानबिनको माग गर्दै जेठ १३ गतेदेखि प्रतिनिधिसभा अवरुद्ध गर्दै आएका छन्। उनीहरूले संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठन गरिनुपर्ने माग राखिरहेका छन्।
तर सत्तापक्ष भने अख्तियारजस्तो संवैधानिक निकायमार्फत छानबिन सुरु भइसकेकाले छुट्टै समिति गठन आवश्यक नभएको अडानमा उभिएको छ। यस विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुट्दा संसद् गतिहीन बनेको छ।
प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया