काठमाडौं – भारतको गुजरात राज्यका पूर्व मुख्यमन्त्री विजय रूपाणीको बिहीबार एयर इण्डियाको विमान दुर्घटनामा निधन भएको छ। उक्त विमान अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उड्न लाग्दा दुर्घटनामा परेको हो। रूपाणी आफ्नो छोरीलाई भेट्न लन्डन जाँदै थिए।
घटनाबारे जानकारी दिँदै केन्द्रीय मन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) गुजरातका अध्यक्ष सी.आर. पाटिलले पूर्व मुख्यमन्त्री रूपाणीको निधन भएको पुष्टि गरेका छन्। उनले एक विज्ञप्ति जारी गर्दै भने, “पूर्व मुख्यमन्त्री रूपाणीजी आफ्नो परिवारसँग पुनर्मिलनका लागि लन्डन जाँदै हुनुहुन्थ्यो। तर दुर्भाग्यवश, यो भयानक दुर्घटनामा उहाँको निधन भयो। भगवानले उहाँको आत्मालाई शान्ति प्रदान गरून्।”
भारतीय सञ्चारमाध्यमहरूका अनुसार, रूपाणीकी पत्नी हाल लन्डनबाट र उनका छोरा अमेरिकाबाट अहमदाबाद फर्कंदै छन्।
एयर इण्डियाको उक्त उडानमा १२ जना चालकदलसहित कुल २४२ यात्रु सवार थिए। तीमध्ये १६९ जना भारतीय, ५३ बेलायती, ७ जना पोर्तुगीज र १ जना क्यानाडाली नागरिक थिए।
विमान दुर्घटना अहमदाबादको मेघाणी नगर क्षेत्रमा भएको हो। प्रारम्भिक जानकारी अनुसार, एक जना यात्रु जीवितै उद्धार गरिएको छ भने अन्य यात्रुहरूको खोज तथा उद्धार कार्य जारी छ।
प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया