काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ सांसद वर्षमान पुनले संसदमा प्रतिनिधित्व गर्ने साना दलहरूलाई उपेक्षा र दवावमा नपार्न सरकार र सत्तापक्षलाई आग्रह गरेका छन्।
प्रतिनिधिसभामा भिजिट भिसा दुरुपयोग प्रकरणको विषय उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद अवरुद्ध गरिरहेकै अवस्थामा सभामुख देवराज घिमिरेले संसद सञ्चालन गरिरहेका छन्। यही विषयमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसदमै सरकारमाथि ‘दादागिरी’ गर्दै अघि बढेको आरोप लगाएका थिए।
सोही सन्दर्भमा सांसद पुनले आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सरकारले साना दलहरूको आवाजलाई बेवास्ता नगर्न आग्रह गरे। उनले सबैसँग संवाद र समन्वयका आधारमा संसद सञ्चालन गर्नुपर्नेमा जोड दिए।
“मुख्य प्रतिपक्षी दल सहमतिमा आएपछि अब अरूलाई पेलिहालौँ भन्ने मानसिकता राख्नु अनुचित हुन्छ। किनभने को कहिले प्रतिपक्षी हुन्छ भन्ने कुरामा स्थायित्व हुँदैन। लोकतान्त्रिक व्यवस्थामा सबै दलको समान हैसियत र सम्मान हुनुपर्छ,” पुनले भने।
उनले सरकारसँग माओवादी केन्द्रले गरेको दुई बुँदे सहमति कुनै सौदाबाजी वा लेनदेनको आधारमा नभएको स्पष्ट पारे। सत्तापक्षको जिम्मेवारी समावेशी र संयमित व्यवहार गर्नु हो भन्दै उनले सत्ता प्रयोगमा संयमता अपनाउनुपर्ने धारणा राखे।
प्रकाशित मिति: १ असार २०८२, आइतबार













प्रतिक्रिया