काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित सम्पूर्ण प्रतिपक्षी दललाई संसदमा उपेक्षा गर्ने प्रवृत्ति बन्द गर्न सत्तापक्ष र सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकमाथि सामान्य छलफलमा भाग लिँदै पुनले सत्तापक्षलाई संख्याको आडमा प्रतिपक्षलाई दबाउने प्रवृत्ति त्याग्न सुझाव दिए। उनले रास्वपालाई समेत बजेट छलफलमा सहभागी हुने वातावरण बनाइनु पर्नेमा जोड दिए।
“संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रसँग दुई बुँदे सहमति भएको भन्दै बाँकी प्रतिपक्षलाई उपेक्षा गर्न खोज्नु गम्भीर भूल हुन्छ,” पुनले भने, “संसदीय अंकगणित स्थायी हुँदैन, सत्तापक्ष र प्रतिपक्षको भूमिका समयअनुसार फेरिन्छ। आज बहुमत भए पनि भोलि परिस्थिति उल्टन सक्छ।”
सभामुखलाई संसदको अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गर्दै पुनले भने, “सभामुखज्यू, तपाईंसँग निष्पक्षता अपेक्षित छ। सत्तापक्षले जबर्जस्ती नगरी संयमित ढंगले प्रस्तुत हुनुपर्छ।”
रास्वपालाई एक्ल्याउने वा विगतका राजनीतिक विषयहरूलाई आधार बनाएर प्रतिशोध लिने प्रयास उचित नहुने भन्दै उनले सत्तापक्षलाई जिम्मेवार बन्न आग्रह गरे। “सानातिना कुरालाई लिएर रास्वपासँग प्रतिशोध लिइहालौँ भन्ने मानसिकता त्यागिनुपर्छ,” उनले भने, “सभामुखले संवादको वातावरण बनाइदिनुहुन्छ भन्ने अपेक्षा गरेका छौं।”
पुनले केही दिनअघिसम्म संसद् अवरुद्ध गर्न सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा रहेको स्मरण गराउँदै, भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन र संरचना निर्माणको प्रतिबद्धता आएसँगै माओवादी केन्द्र र सरकारबीच दुई बुँदे सहमति भएको बताए। रास्वपालाई पनि संसदको नियमित प्रक्रियामा फर्कन उनले आग्रह गरे।
“हामी सँगै संसद अवरोध गरिरहेका थियौं। अब ती मागहरू सम्बोधनतर्फ गएका छन्। बजेट छलफल वर्षमा एकचोटि मात्र हुन्छ। आफ्नो पार्टीको धारणा राख्न यो उपयुक्त समय हो,” पुनले भने।
रास्वपाका सांसदहरूलाई संसदीय अनुभवको अभाव भएको भन्दै उनले अनुभवी दलहरूसँग सहकार्य गर्न सुझाव दिए।
गृहमन्त्री रमेश लेखकको भूमिकामाथि टिप्पणी गर्दै पुनले भिजिट भिसा प्रकरणमा नैतिकता प्रदर्शन गर्न गृहमन्त्री असफल भएको बताए। “हामीसहित प्रतिपक्षी दल र जनस्तरबाट राजीनामाको माग उठ्यो। तर गृहमन्त्रीले अस्वीकार गर्दै सरकारतर्फबाट छानबिनमा सहकार्य गर्ने प्रतिबद्धता जनाएपछि हामी दुई बुँदे सहमतिमा पुग्यौं,” उनले स्पष्ट पारे।
अन्त्यमा, पुनले आफ्नो नाम जोडिएको अग्नि सापकोटा सम्बन्धी मुद्दामा लेनदेन भएको भन्ने आरोपलाई पूर्वाग्रहपूर्ण र निराधार भन्दै खण्डन गरे।
प्रकाशित मिति: १ असार २०८२, आइतबार













प्रतिक्रिया