काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आन्दोलनरत दललाई बोल्न नदिएको भन्दै कडा असन्तोष व्यक्त गरेका छन्।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद झाले बिहान सभामुखसँग भएको छलफलमा पहिले आन्दोलनरत दल रास्वपालाई बोल्न दिने सहमति भएको स्पष्ट रूपमा उल्लेख गरे। तर उक्त सहमति विपरित सभामुखले दलीय आधारमा बोल्ने समय तोकेर आफूहरूलाई बोल्न नदिएको उनको आरोप छ।

advertisement

“सभामुखले सदनको अभिभावकको भूमिकामा निष्पक्षता देखाउनु पर्ने हो, तर उहाँले सत्ता पक्षलाई सहज बनाउन प्रतिपक्षीको आवाज दबाउने काम गर्नुभयो,” सांसद झाको गुनासो थियो। उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमाथि समेत आलोचना गर्दै, “उहाँहरूले सत्तापक्षसँग गुप्त सहमति गरेर हामीलाई पेलेरै लाने रणनीति अपनाउनुभएको छ,” भने।

भिजिट भिसा प्रकरणमा छानबिन प्रक्रिया सुरु गरिने भनिए पनि अहिलेसम्म स्पष्ट कार्ययोजना सार्वजनिक नभएकाले रास्वपा उक्त सहमतिमा सामेल हुन नसकेको सांसद झाले स्पष्ट पारे।

उनले सभामुखले संसद नियमावलीको समेत उल्लंघन गर्दै कांग्रेसका सांसदलाई आकस्मिक समयमा एक वर्ष पुरानो मुद्दामा बोल्न दिएकाे भन्दै आपत्ति जनाए।

“नियम, प्रक्रिया र सहमति विपरीत संसद सञ्चालन गरिँदैछ। प्रतिपक्षको आवाज सुन्ने वातावरण छैन। यही कारण रास्वपाको आन्दोलन जारी छ,” सांसद झाले बताए।

प्रकाशित मिति: १ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com