काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् बैठकमा आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूप्रति आभार व्यक्त गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा सहभागी हुँदै उनले भुइँमा बसेर विरोध जनाइरहेका रास्वपा सांसदहरूको शैलीप्रति धन्यवाद ज्ञापन गर्दै भने, “मैले आज केही माननीय सदस्यहरू कुर्सी खाली गरेर मन्त्रीभन्दा अगाडि बसेको देखेँ। आन्दोलन जारी गर्न बसेको होला, तर मन्त्रीभन्दा अगाडि बसेकोमा धन्यवाद दिन चाहन्छु।”
खतिवडाले बैठकमा थप्दै एक सकारात्मक प्रस्ताव समेत राखे – बैठक भत्ता मर्यादापालकहरूलाई प्रदान गर्नुपर्ने।
उनले भने, “आज यहाँ मर्यादापालक साथीहरू अगाडि बसेका छन्, जबकि सांसदहरू पछाडि छन्। यो मानवअधिकारसँग पनि जोडिएको विषय हो। राप्रपाका सांसदहरूले बैठक भत्ता नलिने घोषणा गरिसक्नुभएको छ, र म पनि आग्रह गर्न चाहन्छु आजको बैठक भत्ता अगाडि बसेर काम गरिरहेका मर्यादापालकहरूलाई दिनु उपयुक्त हुन्छ। म यसका लागि साहस गर्ने प्रतिबद्धता जनाउँछु।”
स्मरणीय छ, जेठ १४ गतेदेखि रास्वपाले गृहमन्त्रीको राजीनामा र छानबिनको माग राख्दै संसद् अवरुद्ध गर्दै आएको छ। आज भने उनीहरू बैठक कक्षमा नबसिकन लबीमै बसेर विरोध जनाइरहेका थिए।
प्रकाशित मिति: २ असार २०८२, सोमबार













प्रतिक्रिया