काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले)सँग पार्टी एकताको कुनै पनि छलफल नचलेको प्रस्ट पारेको छ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँग एकताको प्रस्तावसहित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको भन्ने समाचारप्रति गम्भीर आपत्ति जनाउँदै माओवादी केन्द्रले त्यसलाई पूर्णतः भ्रामक भनेको छ।

advertisement

माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एमालेबाहेकका अन्य कम्युनिष्ट दल तथा समाजवादी मोर्चाभित्रका घटकहरूसँग पार्टी एकता तथा सहकार्यका विषयमा केही छलफल भए पनि एमालेसँग कुनै किसिमको एकता वार्ता वा संवाद चलिरहेको छैन।”

उनले समाचारमा उल्लेख गरिएझैँ पार्टीको तर्फबाट पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता भएको विषयमा पार्टीलाई कुनै जानकारी नभएको स्पष्ट पारे।

सापकोटाले माओवादी केन्द्रको स्पष्ट नीति र दृष्टिकोण नै एमालेसँग पार्टी एकता नगर्ने रहेकोसमेत विज्ञप्तिमा उल्लेख गरेका छन्। “एमालेसँग पार्टी एकताको सोच, नीति वा रणनीति हामीसँग छैन,” विज्ञप्तिमा भनिएको छ।

माओवादीले यस्ता भ्रामक समाचारले जनमानसमा भ्रम फैलाउने प्रयास भएको भन्दै आवश्यक सर्तकता अपनाउन सञ्चारमाध्यमलाई समेत आग्रह गरेको छ।

 

प्रकाशित मिति: २३ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com