काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पनि कुनै समय भिजिट भिसामा अमेरिकामा गएका थिए कि भन्नेबारे प्रश्न उठाएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री लेखकले आफूले त्यसबारे ‘सुनेको’ भन्दै, सत्यतथ्य जानकारी दिन जानकार सांसदहरूलाई आग्रह गरे।
“रवि लामिछाने कुनै समय भिजिटरको रूपमा अमेरिकामा जानुभएको थियो रे। यदि भिजिट भिसामा होइन भने के भिसामा जानुभएको हो?” मन्त्री लेखकले प्रश्न गर्दै भने, “जान्ने साथीहरूले जानकारी गराइदिनुभयो भने म पनि स्पष्ट हुने थिएँ।”
उनले भिजिट भिसामा विदेश गइ उतैको नागरिकता लिएर बसेकाहरूले अब फर्किएर अरूलाई नैतिकताको पाठ पढाउनु उपयुक्त हुन्छ कि हुँदैन भन्ने प्रश्नसमेत उठाए। “भिजिट भिसामा गएका नेताका कार्यकर्ताले अब आएर नैतिकताको पाठ पढाउने अधिकार छ कि छैन भन्ने बहस गर्नु जरुरी छ,” उनले थपे।
मन्त्री लेखकले प्रधानमन्त्रीको विदेश भ्रमणमा सहभागी हुने व्यक्तिहरू मन्त्रिपरिषद्को निर्णयबाट तय हुने जानकारी पनि दिए। भ्रमणमा जानेहरूको नामावली अगावै मन्त्रिपरिषद् निर्णयबाट सार्वजनिक हुने उनको भनाइ थियो।
प्रधानमन्त्रीको भ्रमणमा सहभागी भई फर्किएका र नफर्किएका व्यक्तिको सूची दिन आग्रह गर्दै उनले भने, “को–को गएका थिए, त्यसमा को–को फर्किएनन् भन्ने जानकारी दिनुभयो भने सरकारलाई सजिलो हुन्थ्यो। होइन भने अनुमान र कल्पनामै आधारित गलत प्रचार नगरौँ।”
गृहमन्त्री लेखकले यस्ता अनावश्यक आशंका र अपुष्ट दाबीबाट राजनीतिक फाइदा उठाउने प्रयास गर्नु अनुचित भएको पनि बताए।
प्रकाशित मिति: २५ असार २०८२, बुधबार












प्रतिक्रिया