काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध भएको कदमलाई राजनीतिक प्रतिशोधको रूपमा लिँदै उनकै पक्षमा सुरु गरिएको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाउने भएकी छन्।
मनिषाले आज साढे ११ बजे वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा पुगेर औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको छ। उक्त अभियानका लागि गठन गरिएको समितिका सचिव प्रमोद न्यौपानेका अनुसार उनले कार्यालयमै उपस्थित भएर समर्थन जनाउने पक्का भएको हो।
राजसंस्थाप्रति झुकाव राख्दै आएकी मनिषा कोइराला कुनै राजनीतिक दलप्रति खुला समर्थन जनाएकी छैनन्। तर लामिछानेप्रति सहानुभूति जनाउँदै हस्ताक्षर अभियानमा सहभागी हुने निर्णयलाई रास्वपा नेताहरूले उत्साहजनक रुपमा लिएका छन्।
उनको सहभागितालाई रास्वपाले सार्वजनिक समर्थनको महत्वपूर्ण संकेतका रूपमा लिएको छ भने अभियानले थप जनसमर्थन बटुल्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २६ असार २०८२, बिहिबार











प्रतिक्रिया