काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको माओवादीप्रति दृष्टिकोणमा कुनै मौलिक भिन्नता नरहेको निष्कर्ष निकालेका छन् ।

पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा बिहीबार बसेको पदाधिकारी बैठकमा समसामयिक राजनीतिक विषयमा जानकारी दिँदै अध्यक्ष प्रचण्डले पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएको विषयलाई एमालेको आन्तरिक विषय भन्दै हतारमा धारणा नबनाउनुपर्ने बताएका थिए। उपमहासचिव हरिबोल गजुरेलका अनुसार, प्रचण्डले बैठकमा ओली र भण्डारी दुवैले माओवादीलाई हेर्ने दृष्टिकोणमा ठूला भिन्नता नरहेको उल्लेख गर्दै, “पात्र फरक भए पनि विचार, दृष्टिकोण र एजेन्डा उस्तै छन्,” भनेका थिए।

advertisement

श्रेष्ठ–भण्डारी भेटबारे प्रचण्डको स्पष्टीकरण

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच वाम एकताको विषयमा भएको भनिएको छलफलबारे पनि बैठकमा प्रचण्डले स्पष्टीकरण दिएका छन्। उनका अनुसार, पार्टीको तर्फबाट श्रेष्ठलाई त्यस्तो कुनै जिम्मेवारी दिइएको थिएन। भण्डारी चीन भ्रमणबाट फर्किएपछि श्रेष्ठसँग भेट भएको खबर सार्वजनिक भएपछि उत्पन्न भ्रमका कारण पार्टीले स्पष्टीकरणसहित वक्तव्य जारी गरेको जानकारी दिइएको हो।

“नारायणकाजी श्रेष्ठ फर्किएपछि स्थायी कमिटी बैठकमा यो विषयमा थप छलफल गरिनेछ,” गजुरेलले भने।

भिजिट भिसा प्रकरण : अडानप्रति आत्मसमालोचना

भिजिट भिसा प्रकरणमा पार्टीले लिएको अडानका कारण उत्पन्न भ्रमप्रति अध्यक्ष प्रचण्डले कमजोरी स्वीकार गरेको पनि बैठकमा जानकारी गराइएको छ। सचिव गंगानारायण श्रेष्ठका अनुसार, गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएर अघि बढ्नुको सट्टा छानबिन समिति गठनको मागमा केन्द्रित भएको भए जनस्तरमा भ्रम सिर्जना हुने थिएन।

उपमहासचिव गजुरेलले पनि अध्यक्ष प्रचण्डले सुरुआती अडान परिवर्तनपछि आएको जनमानसको भ्रमबारे आत्ममूल्यांकन गरेको जानकारी दिए। उनका अनुसार, “शक्तिशाली छानबिन समिति गठनको माग नगरेर बटमलाइनबाट पछि हट्नु कमजोरी भयो भन्ने अध्यक्षको निष्कर्ष छ।”

श्रेष्ठ–शर्मा विवादमा छलफल भएन

बैठकमा अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको भनिएको अन्तरविरोधबारे कुनै औपचारिक छलफल नभएको बताइएको छ। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित केही नेताहरू अनुपस्थित रहेकाले यस विषयमा चर्चा नभएको नेताहरूले बताएका छन्।

बैठकले आगामी साउन महिनामा बस्ने स्थायी कमिटी बैठकमार्फत केन्द्रीय समिति बैठक, संगठनात्मक अभियानको समीक्षा, आन्तरिक मतभेदको व्यवस्थापन, र एकता प्रक्रियामा आएका नेताहरूको जिम्मेवारी निर्धारणलगायत विषयमा निर्णय लिने जानकारी दिएको छ।

बैठकले नेपाल समाजवादी पार्टी (नेसापा)का गंगानारायण श्रेष्ठ समूहबाट माओवादी केन्द्रमा मिसिएका १५ जना नेताहरूलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ।

नयाँ वैकल्पिक केन्द्रीय सदस्यहरूमा — कृष्ण कुमार भण्डारी (काभ्रे), मीनबहादुर दर्जी (झापा), कृष्ण सापकोटा (बागलुङ), मोदनाथ तिमल्सिना (सिन्धुली), प्रमिला यादव (धनुषा), मेघराज तामाङ (रामेछाप), डा. जयनारायण यादव (सिरहा), राजु महर्जन (काठमाडौं), टीका कन्दङ्वा (तेह्रथुम), अनिता थिङ (काभ्रे), शंकर अधिकारी (धादिङ), बद्री विलास मिश्र (लमजुङ), शोभा माझी (सिन्धुली), राकेश साह (महोत्तरी), राजन कुमार दनुवार (उदयपुर) रहेका छन्।

यसअघि गंगानारायण श्रेष्ठलाई सचिव बनाइएको थियो भने १५ जनालाई वैकल्पिक केन्द्रीय सदस्य र २ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरिसकिएको थियो।

 

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com