काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटली र जर्मनीको सरकारी भ्रमण सम्पन्न गरी बिहीबार बिहान स्वदेश फर्किएकी छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले स्वागत गरेका थिए।
मन्त्री राणा देउवा इटलीको रोममा आयोजित खाद्य तथा कृषि संगठन (एफएओ) को ४४ औँ अधिवेशन र सो अवसरमा भएको उच्चस्तरीय मन्त्रीस्तरीय सम्मेलनमा सहभागी भई त्यसपछि जर्मनीको भ्रमणमा गएकी थिइन्।
एफएओको अधिवेशनका प्रमुख सत्रहरूमा सम्बोधन गर्दै मन्त्री राणाले नेपालले खाद्य अधिकारलाई मौलिक हकका रूपमा संविधानमा समेटेको र यसको कार्यान्वयनका लागि आवश्यक कानुनी संरचना विकास गरिएको जानकारी दिइन्। उनले खाद्य सुरक्षा तथा गुणस्तर सुनिश्चित गर्न नेपालले अपनाएको नीतिगत तथा प्राविधिक उपायहरू—नियामक मापदण्ड, प्रयोगशाला निगरानी र उपभोक्ता संरक्षण—बारे पनि प्रकाश पारेकी थिइन्।
साथै, अतिकम विकसित, साना टापु तथा भूपरिवेष्ठित मुलुकहरूको प्रतिनिधित्व गर्दै मन्त्री राणाले जलवायु परिवर्तनका कारण ती देशहरू—विशेष गरी नेपाल—ले भोगिरहेको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएकी थिइन्। उनले दिगो कृषि प्रणाली तथा हिमाली क्षेत्रका लागि जलवायु वित्तमा अनुदान सुनिश्चित गर्न आग्रह समेत गरिन्।
जर्मनी भ्रमणका क्रममा मन्त्री राणाले बर्लिनमा जर्मन विदेशमन्त्री डा. जोहान डेविड वेडफुलसँग द्विपक्षीय भेटवार्ता गरिन्। भेटमा उनले नेपालमा रासायनिक मल उद्योग स्थापनामा लगानीको आग्रह गर्दै नेपाल–जर्मनी सिधा हवाई उडान सञ्चालनको प्रस्ताव समेत राखेकी थिइन्।
उनले सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नत भएपछि जर्मनी, युरोपेली संघ तथा अन्य साझेदारहरूसँग स्रोत, प्रविधि तथा आर्थिक सहयोगको अपेक्षा रहेको जानकारीसमेत गराएकी थिइन्।
प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार












प्रतिक्रिया