काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका साथसाथै जनसङ्ख्याको सन्तुलित वृद्धि पनि अत्यावश्यक रहेको भन्दै मानव अस्तित्व जोगाउन समयमै विवाह गरी सन्तान जन्माउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
विश्व जनसङ्ख्या दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित कार्यक्रममा ‘राष्ट्रिय जनसङ्ख्या नीति, २०८२’ सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले जनसङ्ख्याको असन्तुलनले मानव अस्तित्व नै संकटमा पार्ने चेतावनी दिए।
उनले भने, “विकास र जनसङ्ख्याको गति सँगसँगै मिल्नुपर्छ। मानिस भएकाले देश र पृथ्वीको अर्थ छ। जनसङ्ख्या नहुने हो भने न देश बाँच्छ, न मानवता। त्यसैले सन्तुलित जनसङ्ख्याको विकास अत्यावश्यक छ।”
प्रधानमन्त्री ओलीले मानिसको अस्तित्व सृजनासँग जोडिएको भन्दै प्रत्येक व्यक्तिले सन्तान जन्मलाई धर्ती र मानव समाजप्रतिको उत्तरदायित्वका रूपमा लिनुपर्ने धारणा राखे। “सृष्टिको रचनाका लागि मानव जातिको मूल्य अतुलनीय छ,” उनले भने, “जनसङ्ख्या विषयमा सेमिनार, गोष्ठी गरिरहने अनि अर्कोतर्फ आम विनाशका हतियार बनाएर मान्छे मारिरहने प्रवृत्तिले मानव समाज बाँच्दैन।”
प्रधानमन्त्री ओलीले सरकारले २० वर्षपछि मात्र विवाह गर्न कानुनी प्रावधान गरेको स्मरण गराउँदै समयमै विवाह गरेर ३० वर्षभित्र सन्तान जन्माइसक्न सुझाव दिए।
उनले समाजमा फैलिएको “सन्तानले डाँडाकाँडा ढाकुन् भन्ने सोच असल भए पनि अत्यधिक प्रचारप्रसारले उल्टै सन्तान नहुने अवस्था सिर्जना भएको” भन्दै यसप्रति सचेत रहन आग्रह गरे। “अब विवाह ढिलो गर्ने, सन्तान नहुने प्रवृत्तिलाई सुधार्नुपर्छ,” उनले भने।
प्रधानमन्त्री ओलीले जनसङ्ख्या ऋणात्मक हुँदै गएका विकसित राष्ट्रहरूको उदाहरण दिँदै नेपाल जस्ता मुलुकले समयमै जनसङ्ख्याको सन्तुलित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।
“यदि हामीले जनसङ्ख्यालाई सन्तुलित रूपमा व्यवस्थापन गर्न सकेनौं भने मानव अस्तित्व नै संकटमा पर्छ,” उनले भने, “अब गोष्ठी मात्रै होइन, व्यवहारमा नीति कार्यान्वयन गर्ने बेला आएको छ।”
उनले सार्वजनिक गरिएको जनसङ्ख्या नीतिले समृद्ध, सन्तुलित र मानव–मैत्री समाज निर्माणमा मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार












प्रतिक्रिया