काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। असार २३ गते चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा बेइजिङ प्रस्थान गरेका नेता खनाल शनिबार नेपाल फर्किएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले चिनियाँ नेताहरूले नेपालमा कम्युनिष्ट आन्दोलनको विभाजनबारे गहिरो चिन्ता व्यक्त गरेको खुलासा गरे।

advertisement

खनालका अनुसार चिनियाँ नेताहरूले नेपालमा कम्युनिष्ट विचारधाराप्रति जनताको ठूलो आकर्षण रहेको देखिन्छ भने पनि त्यस अनुरूप पार्टीहरू किन विभाजित छन् भन्ने गम्भीर जिज्ञासा राखेका थिए।
“चीनका नेताहरूले भने, ‘नेपालमा कम्युनिष्ट विचारमा ६० प्रतिशतभन्दा बढी जनताको विश्वास देखिन्छ, तर पार्टीहरू किन यसरी टुक्रिएको हो?’ भन्ने प्रश्न गर्नु भएको थियो,” खनालले सुनाए, “उहाँहरूलाई त्यो निकै चिन्ताजनक लागेछ।”

चिनियाँ नेताहरूले पार्टी विभाजनको पछाडि गहिरो सिद्धान्तगत वा नीतिगत मतभेदभन्दा पनि नेताहरूबीचको व्यक्तिगत स्वार्थको द्वन्द्व देखिएको धारणा राखेको पनि खनालले बताए।
“उहाँहरूले स्पष्ट रूपमा भने, ‘हामीले हेर्दा यो विभाजन सिद्धान्त वा विचारको कारण होइन, नेताहरूको स्वार्थको झगडा जस्तो देखिन्छ,’” खनालले बताए।

खानालले चिनियाँ नेताहरूको उक्त टिप्पणी नेपालका सबै राजनीतिक नेतृत्व, विशेषतः वामपन्थी नेताहरूले गम्भीर रूपमा सुन्न र आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको धारणा पनि व्यक्त गरे।
“यो सन्देश गम्भीर हो,” खनालले भने, “नेपालका विद्वान र जिम्मेवार नेताहरूले यसलाई सुन्नुपर्छ, बुझ्नुपर्छ र त्यसअनुसार निर्णय गर्नुपर्छ।”

प्रकाशित मिति: २८ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com