काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा अनुशासन समिति अध्यक्ष नवराज सुवेदीको पदबाट गरिएको हटाइप्रति असन्तोष चुलिँदै गएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते सुवेदीलाई पदमुक्त गरेपछि इतर समूह आक्रोशित बनेको छ।

राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको पक्षमा सक्रिय संयुक्त जनआन्दोलन समितिका संयोजक समेत रहेका सुवेदीले लिङ्देनको निर्णयविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने तयारी गरेका छन्।
इतर समूहका नेताहरूका अनुसार सुवेदीको बर्खास्ती पार्टी विधानविपरीत भएको भन्दै आइतबार बिहान ११:३० बजे आयोगमा उजुरी दर्ता गरिनेछ।

advertisement

राजावादी आन्दोलनको अगुवाइ गर्दै आएका सुवेदीलाई एकाएक हटाउनु लिङ्देन नेतृत्वको गैरजिम्मेवार कार्य भएको भन्दै इमान्दारिता र नेतृत्व क्षमतामाथि प्रश्न उठेको इतर समूहको टिप्पणी छ।

अध्यक्ष लिङ्देनले सुवेदीलाई हटाउँदै पार्टी उपाध्यक्ष रोशन कार्कीलाई अनुशासन समितिको अध्यक्षमा नियुक्त गरेका छन्। यस्तै, प्रवक्ता सगुन सुन्दर लावतीलाई पनि पदबाट हटाइएको थियो।
शनिबार सम्पन्न भेलामा सहभागी नेताहरूले लिङ्देनले विधानविपरीत ढंगले आलोचकहरूलाई लक्षित गरी पदमुक्त गरिरहेको भन्दै तीव्र आलोचना गरेका छन्। यसअघि लिङ्देनले महामन्त्री धवलशम्शेर राणालाई संगठन विभाग प्रमुखबाट हटाइसकेका छन्।

शनिबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म राजधानीस्थित महामन्त्री राणाको अपार्टमेन्टमा आयोजित भेला करिब ४ घण्टा चल्यो।
भेलामा पार्टी निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री हरिबहादुर बस्नेत, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री कुन्तीकुमारी शाही, बर्खास्त प्रवक्ता सगुन सुन्दर लावती, प्रवीणकुमार थोकर तामाङ, प्रेम बलायर, ऋषिराज देवकोटा, सौरेन्द्रबहादुर शाह, जनकराज पाठक, रञ्जन कार्की, मिना शाही, कर्णबहादुर शाही, किशोर कार्की र निरञ्जन थापालगायत नेताहरूको उपस्थिति थियो।

भेलामा अध्यक्ष लिङ्देनको शैली, निर्णय प्रक्रिया र एकलौटीपनमाथि गम्भीर समीक्षा भएको बताइएको छ। यो विवादसँगै राप्रपाभित्र गुटबन्दी र आन्तरिक संघर्ष झनै चर्किएको देखिएको छ।

प्रकाशित मिति: २८ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com