काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीभित्र आफूले कुनै गुट नचलाएको स्पष्ट पारेका छन्।
काठमाडौं आयोजित जनजागरण कार्यक्रममा बोल्दै उनले पार्टीमा आन्तरिक लोकतन्त्र कायम रहेको भन्दै महाधिवेशनको मिति समय आएपछि तय गरिने जानकारी दिए।
हालै महामन्त्री डा. धवलशमशेर राणाको संयोजनमा असन्तुष्ट नेताहरूको भेला भएको प्रसंग उल्लेख गर्दै लिङदेनले त्यसतर्फ लक्षित गर्दै भने, “म सबैलाई स्पष्ट भन्न चाहन्छु— मेरो पार्टीभित्र कुनै गुट छैन, कोही विपक्षी छैन। विपक्षी भनेको त पार्टीलाई मुठ्ठीमा राख्न खोज्ने हो। नयाँ मान्छे आए शत्रुजस्तै ठान्ने हो। यस्ता सोच भएका मानिसहरूसँग मेरो असहमति हो।”
पार्टीलाई सबल र व्यापक बनाउन कांग्रेस, एमाले र माओवादीबाट समेत सक्षम व्यक्तिहरूलाई ल्याउनु पर्ने धारणा उनले राखे।
महाधिवेशन र नेतृत्वबारे उनले भने, “अहिले कसले अध्यक्ष बन्ने भनेर होडबाजी गर्ने समय होइन। समय आएपछि जो-जो आउन चाहन्छन्, उम्मेदवारी घोषणा गरे हुन्छ। मलाई फेरि नेतृत्व लिनुपर्छ जस्तो लाग्यो भने म पनि अघि सर्छु, नत्र उपयुक्त मान्छेलाई समर्थन गरेर अगाडि बढ्नेछु। पद भन्ने चिज जीवनभरको होइन।”
उनले पार्टीको विधानअनुसार एक व्यक्तिले दुई कार्यकालभन्दा बढी अध्यक्ष बन्न नमिल्ने प्रावधान रहेको स्मरण गराए। “मैले अझै एक कार्यकालको अवसर पाउन सक्छु, त्यो पाएको खण्डमा पनि कुनै पछुतो हुने छैन। पद नभए पनि पार्टीको हितमा योगदान दिन सकिन्छ,” उनले भने।
राजावादी आन्दोलनको सन्दर्भमा उनले आफू नेतृत्वकर्ता नभई सहयोगी मात्र रहेको स्पष्ट पारे। “राजेन्द्रले आन्दोलन तुहायो भन्नेहरू आज मलाई होइन, नवराज सुवेदी दाइलाई खोज्दै गए। हामीले उहाँलाई स्वीकार्य मान्यौं, देशभरका कार्यकर्ता उभ्यायौं। तर आन्दोलन किन स्थगित भयो भन्ने जवाफ नेतृत्व गर्नेहरूले दिनुपर्छ। मैले त आन्दोलन स्थगित भएको भन्ने कुनै विज्ञप्ति पनि निकालेको छैन,” उनले जिकिर गरे।
उनले गणतन्त्र अन्त्य गरी राजा फेरि नारायणहिटी फर्कुन् भन्ने व्यक्तिगत चाहना रहेको पनि खुलेर बताए।
प्रकाशित मिति: २८ असार २०८२, शनिबार












प्रतिक्रिया