तस्बिरः राताेपाटी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता नवराज सुवेदी पार्टीको अनुशासन समितिबाट हटाइएको निर्णयविरुद्ध उजुरी लिएर शनिबार निर्वाचन आयोग पुगेका छन्। उनलाई राप्रपाको संस्थापन इतर समूहले समर्थन जनाएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुवेदीलाई पार्टी परित्याग गरेको ठहर गर्दै अनुशासन समितिको अध्यक्ष पदबाट हटाएका थिए। त्यसपछि उक्त पदमा उपाध्यक्ष रोशन कार्कीलाई नियुक्त गरिएको थियो। तर सुवेदीले आफू अझै राप्रपाकै सदस्य रहेको दाबी गर्दै अध्यक्षको निर्णय अवैधानिक भएको भन्दै आयोगको ढोका ढकढक्याएका हुन्।
यसअघि सुवेदीले राजसंस्था पुनःस्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समिति को संयोजक बनेर सार्वजनिक रूपमा राप्रपाको साधारण सदस्यता त्यागेको घोषणा गरेका थिए। यद्यपि, उनले पार्टीमा औपचारिक रूपमा कुनै लिखित राजीनामा बुझाएका छैनन्। अध्यक्ष लिङ्देनले भने सार्वजनिक अभिव्यक्तिलाई नै पार्टी परित्यागको रूपमा लिँदै उनलाई हटाउने निर्णय गरेका हुन्।
राप्रपाको विधानअनुसार अनुशासन समितिका अध्यक्ष नियुक्त गर्न पार्टी अध्यक्षले प्रस्ताव केन्द्रीय समिति वा कार्यसम्पादन समितिबाट अनुमोदन गराउनुपर्ने प्रावधान छ। सुवेदीको हटाइ र कार्कीको नियुक्ति प्रक्रिया विधानविपरीत भएको भन्दै संस्थापन इतर समूह निर्वाचन आयोगमा उजुरी दर्ता गर्न पुगेको हो। यसै समूहले हालै प्रवक्ता सगुन लावतीलाई पदमुक्त गरिएको निर्णयको पनि विरोध जनाएको छ।
निर्वाचन आयोग पुग्दा सुवेदीसँगै महामन्त्री डा. धवलशम्शेर राणा लगायत इतर पक्षका नेताहरू पनि उपस्थित थिए। लठ्ठीको सहारामा आयोग पुगेका सुवेदीले पत्रकारहरूसँग प्रतिक्रिया जनाउन मानेनन्। “हामी निस्किएपछि बोल्छौं, तपाईंहरू पनि नियममा हिँड्नुस्,” पत्रकारहरूको प्रश्नमा उनले संक्षिप्त जवाफ दिए।
राप्रपाको आन्तरिक विवाद संस्थागत रूपमा आयोगमा पुगेपछि नेतृत्व संकट थप चुलिने संकेत देखिएको छ।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार












प्रतिक्रिया