झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापा र मोरङलाई जोड्ने रतुवा नदीमाथिको पुल उद्घाटन गरेका छन्। हुलाकी राजमार्गअन्तर्गत पर्ने गौरीगञ्ज–आमबारी खण्डमा निर्माण गरिएको सो पुलको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको हुलाकी सडक निर्देशनालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले गरेका हुन्।
पुल उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले विकास निर्माणका कामलाई तीव्रता दिँदै अबको १५ वर्षभित्र मुलुकबाट गरिबी अन्त्य गर्ने लक्ष्यसहित अघि बढ्नुपर्ने बताए।
“छेउमै नदी भएर पनि खेतमा पानी नपुग्ने अवस्थाको अन्त्य गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “कृषिमा आधुनिकीकरण र व्यावसायिकता ल्याएर स्थानीय तहहरूले नमूना काम गर्नु जरुरी छ।”
त्यसअघि प्रधानमन्त्री ओलीले झापाकै दमक नगरपालिका क्षेत्रभित्र पर्ने मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको पनि उद्घाटन गरेका थिए।
प्रधानमन्त्री ओलीले पूर्वाधार विकासलाई समृद्ध नेपाल निर्माणको आधार स्तम्भको रूपमा अघि बढाउँदै कृषि, यातायात, ऊर्जा र सिंचाइजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार












प्रतिक्रिया