काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र नागरिक अधिकारको संरक्षण गर्नु आजको नेपाली समाजको मूल दायित्व भएको बताएका छन्।
आइतबार भक्तपुरमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स)को २६औं स्थापना दिवस कार्यक्रममा बोल्दै महासचिव पोखरेलले वर्तमान अधिकार प्राप्तिको पछाडि राजनीतिक दलहरूको त्याग, संघर्ष र बलिदान रहेको उल्लेख गरे।
उनले २००७ सालको परिवर्तनपछि जनताले प्राप्त गरेका अधिकारहरू फेरि राजा मार्फत खोसिएको प्रसङ्ग स्मरण गर्दै लोकतान्त्रिक राज्य व्यवस्थाले मात्रै मानव अधिकारको सुनिश्चितता गर्न सक्ने बताए। “राज्यलाई मानव अधिकार विरोधी भन्नु गलत बुझाइ हो,” उनले भने, “यस्ता परिभाषाले सामाजिक अराजकता बढाउँछ र अन्ततः राज्यलाई कमजोर बनाउँछ।”
पोखरेलले सामाजिक अराजकताले देशको विकास रोक्ने मात्र नभई साम्राज्यवादको हितमा काम गर्ने चेतावनी पनि दिए। उनले भ्रम फैलाएर जनमत निर्माण गर्ने शैलीले मुलुकको हितमा होइन, प्रतिगमनलाई साथ दिने खतरा पैदा गरिरहेको बताए।
नेपालको आर्थिक अवस्थामाथि टिप्पणी गर्दै महासचिव पोखरेलले भने, “काम गर्ने उमेरका सबै नागरिक विदेशिँदै जाँदा देश कसरी बन्न सक्छ? देशमा नै बसेर श्रम, उद्यम र सृजनशीलतामा लाग्नुपर्छ। गुनासो गरेर मात्र समृद्धि आउँदैन।”
उनका अनुसार समृद्ध नेपाल निर्माणका लागि नागरिकले जिम्मेवारी बोध गर्दै योगदान दिन आवश्यक छ। “नयाँ पुस्तालाई सीप र उद्यमशीलतासँग जोड्न सके मात्र आर्थिक प्रगति सम्भव हुन्छ,” उनले जोड दिए।
कार्यक्रममा मानव अधिकार एलायन्सका इञ्चार्ज विष्णु रिजालले एमालेलाई बलियो बनाउन सबै एकजुट हुनुपर्ने धारणा राखे। अध्यक्ष विदुर सुवेदीले मानव अधिकार उल्लंघनका घटनाहरू बढ्दो क्रममा रहेको भन्दै राज्य र सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार












प्रतिक्रिया