काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा स्पेन गएका नेपालीहरू नफर्किएको घटनामा छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले प्रधानमन्त्री सहभागी कार्यक्रममा सहभागी भनेर स्पेन गएका नेपालीमध्ये केही नफर्किएको पुष्टि भइसकेको दाबी गर्दै यस विषयमा गम्भीर छानबिन आवश्यक रहेको बताए।
उनले भने, “प्रधानमन्त्री सहभागी कार्यक्रममा साथमा गएका केही व्यक्ति अहिले पनि फर्किएका छैनन् भन्ने कुरा प्रमाणित भइसकेको छ। यस्तो गम्भीर विषयमा सरकारले किन संसदीय छानबिन समितिबाट डर मानिरहेको छ?”
सांसद शाहीले सो प्रकरणमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई आग्रह गरे।
उनले भिजिट भिसाको नाममा भइरहेका दुरुपयोगका घटनालाई लिएर संसदीय छानबिन समिति नबनेसम्म आफूहरू संसद् र सडक दुवै माध्यमबाट आवाज उठाइरहने चेतावनी दिए।
“हामी संसदीय छानबिन समिति गठन नभएसम्म यो विषयमा आन्दोलन जारी राख्छौँ,” उनले स्पष्ट पारे।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार












प्रतिक्रिया