काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले विगतमा जनप्रतिनिधिहरूबीच देखिएका अविश्वास र मतभेदहरू समाधान भई महानगर अब विकासको साझा यात्रामा अघि बढेको बताएकी छन्।
आइतबार महानगरको आगामी आर्थिक वर्ष २०८१/८२ काे बजेट नगरसभामा प्रस्तुत गर्दै उनले विगतका त्रुटिहरू स्वीकार गरिन् र समग्र महानगरको हितका लागि सबै तहका जनप्रतिनिधिहरू एकताबद्ध भएको उल्लेख गरिन्।
उपप्रमुख डंगोलले बजेट समयमै ल्याउन नसकिएकोमा महानगरवासी र सरोकारवालासँग क्षमा माग्दै भनिन्, “विगतका दिनहरूमा हामीबीच केही अविश्वास, मतभेद र आरोप–प्रत्यारोपका स्थिति देखिए, तर ती सबै कुरा आत्ममन्थन भई समाधानतर्फ उन्मुख भए। आज हामी फेरि साझा जिम्मेवारीसाथ यो सभामा उपस्थित भएका छौं।”
ढिलो भए पनि बजेट पेस गर्न सफल भएकोमा उनले सबै जनप्रतिनिधि र कर्मचारीको योगदानप्रति आभार प्रकट गरिन्। “तीन वर्षको सहकार्यमा जनताले धेरै अपेक्षा राखेका छन्। अबको दिनमा हामी सबै मिलेर, समन्वय र सहकार्यमा आधारित भएर ती अपेक्षा पूरा गर्नेछौं,” उनले प्रतिबद्धता जनाइन्।
काठमाडौं टावरको नक्सा पाससम्बन्धी विषयमा मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिक अधिकारी सरोज गुरागाईंबीच चुलिएको विवादका कारण प्रायः ६ महिनासम्म कार्यपालिका बैठक अवरुद्ध थियो। मेयर शाहले गुरागाईंको उपस्थितिमा बैठक नबस्ने अडान लिएका कारण ऐनअनुसार असार १० भित्र बजेट ल्याउने म्याद गुज्रिएको थियो।
तर निरन्तर संवादपछि उपप्रमुख डंगोल र तीनजना वडाध्यक्षहरूको पहलमा शुक्रबार कार्यपालिका बैठक बसेको थियो, जसपछि आइतबार नगरसभामा बजेट प्रस्तुत गरिएको हो।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार












प्रतिक्रिया