झापा । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आजै झापाबाट काठमाडौं फर्किने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार साँझ ५:४० बजे भद्रपुर विमानस्थलबाट काठमाडौं प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ।
प्रधानमन्त्री फर्किएलगत्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग भेटवार्ता गरिने सचिवालय स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार प्रधानमन्त्रीले भेटपछि आवश्यक निर्णय लिने तयारी गरेका छन्।
सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत मन्त्री गुप्ताको ‘घुस डिल’ सम्बन्धी अडियो सार्वजनिक भएपछिसमेत प्रधानमन्त्री ओलीले यसबारे सार्वजनिक टिप्पणी गरेका छैनन्। भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्तिका लागि २५ लाख र कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लेनदेनको विषयमा मन्त्री गुप्तामाथि आरोप लागेको हो।
आफूमाथि लागेका आरोपबारे मन्त्री गुप्ताले प्रधानमन्त्रीसँग औपचारिक छलफल भइनसकेको बताएका छन्। साथै उनले आफ्नो व्यक्तिगत वा मन्त्रालयको खातामा पैसा नआएको दाबी गर्दै अडियो परीक्षणमा समेत तयार रहेको बताएका छन्।
प्रधानमन्त्री सचिवालयका अनुसार गुप्ताको स्पष्टीकरण चित्तबुझ्दो नभए प्रधानमन्त्री ओलीले उनको राजीनामा माग्ने वा नदिए बर्खास्त गर्ने तयारीमा छन्। मन्त्री गुप्ता एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद पनि हुन्।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार












प्रतिक्रिया