काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र उनकी पत्नीलाई समाजसेवामा अझ सक्रिय बन्ने सामर्थ्य प्राप्त होस् भन्ने शुभकामना दिएका छन्।
त्रिवि शिक्षण अस्पतालको विस्तारित सेवा भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गुरुङ दम्पतीले कमाएको आम्दानीको केही हिस्सा समाजको हितमा खर्च गर्नु उदाहरणीय रहेको बताए।
“धेरैले पैसा कमाउँछन्, तर केहीले मात्र सामाजिक हितमा लगाउँछन्,” प्रधानमन्त्री ओलीले भने, “कोही अस्पताल बनाउँछन्, कोही क्यासिनो धाउँछन्। म अस्पताल बनाउनेलाई प्रशंसा गर्छु, क्यासिनो जानेहरू पनि सच्चिउन् भनेर कामना गर्छु।”
उनले गुरुङ दम्पतीले सामाजिक जिम्मेवारी बुझेको उल्लेख गर्दै भने, “सबै पैसा दान गर्नुपर्छ भन्ने होइन, कमाउनुपर्छ, जोगाउनुपर्छ, र सही ठाउँमा खर्च गर्नुपर्छ। गुरुङ दम्पतीले त्यसको उदाहरण प्रस्तुत गर्नुभएको छ।”
प्रधानमन्त्री ओलीले गुरुङ परिवारको समृद्धि अझ बढोस् र उनीहरूले अझ धेरै अस्पताल, विद्यालयजस्ता संरचना निर्माण गर्न सकोस् भन्ने शुभेच्छा पनि व्यक्त गरे। “गुरुङको सम्पत्ति बढोस्, तर ती सम्पत्ति विद्यालय र अस्पतालजस्ता जनकल्याणकारी क्षेत्रमा लागुन्,” प्रधानमन्त्री ओलीले भने, “सरकारको लक्ष्य पनि निरोगी नेपाल निर्माण गर्ने नै हो।”
प्रकाशित मिति: ३० असार २०८२, सोमबार












प्रतिक्रिया