काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मुलुक बिचौलियाको नियन्त्रणमा परेको भन्दै कडा आक्रोश व्यक्त गरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा व्यापक बिचौलिया सेटिङ रहेको आरोप लगाउँदै उनले नेकपा (एमाले)का दुई मन्त्री—राजकुमार गुप्ता र बलराम अधिकारीमाथि गम्भीर प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै सांसद सिंहले हालै सार्वजनिक भएको घुस प्रकरणसम्बन्धी अडियो र त्यसमा देखिएको बिचौलिया प्रभावलाई उदाहरण दिँदै मुलुकको प्रशासनिक ढाँचा कमजोर बनाइएको दाबी गरेका छन्।
‘देश बिचौलियाको कब्जामा छ, म यति बेला मात्र होइन, लगातार यही कुरा गर्दै आएको छु,’ उनले लेखेका छन्, ‘संघीय मामिला मन्त्रालयले बिचौलियाको चलखेलमा कर्मचारी सरुवा गर्ने, मेयरको सिफारिसमा स्थानीय तहमा कर्मचारी पठाउने जस्ता क्रियाकलाप आम जनतालाई थाहा भइसकेको छ।’
सिंहले एमालेका मन्त्रीद्वयमाथि गम्भीर प्रश्न उठेको उल्लेख गर्दै भनेका छन्, ‘यस्ता गम्भीर आरोप सार्वजनिक भइसकेपछि पनि मन्त्रीहरूले पदमा टिकिरहनु लाजमर्दो कुरा हो।’ उनले दुवै मन्त्रीले नैतिक जिम्मेवारी स्वीकार गर्दै तत्काल राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग गरेका छन्।
यसैबीच, घुस प्रकरणमा मुछिएका संघीय मामिला मन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएर राजीनामा दिन निर्देशन दिएका छन्। मन्त्री गुप्तासम्बन्धी अडियो सार्वजनिक भएसँगै उक्त प्रकरण संसददेखि राजनीतिक वृत्तसम्म विवादको विषय बनेको छ।
प्रकाशित मिति: ३० असार २०८२, सोमबार












प्रतिक्रिया